प्रेम दिवस बिशेष-म तिमिलाई अथाह प्रेम गरिरहनेछु !

पालिका डायरी
२ फाल्गुन २०८०

सिम्रन खड्का

 

प्रिय !  तिम्रो प्रेम कुन शब्दमा बयान गरौं ? हुन त आज माया गर्नेहरुको दिन रे ! प्रणय दिवसको शुभकामना !

हुनत मैले यो भनिराख्न पर्दैन । मेरो लागि हरेक दिन प्रणय दिवस । मेरो लागि तिमी अमूल्य छौ, जसको कुनै मूल्य छैन । भावनामा बगेर होइन मनदेखि नै भन्छु म तिमिलाई अथाह प्रेम गरिरहनेछु ।

यी दिनहरुमा झन् धेरै महशुस हुँदै छ, तिमी मेरो लागि सास बराबर छौ। तिमीले दिने माया, गरेको भरोसा अनि आफ्नो परिवारको लागि गरेको त्याग स्मृतिमा अमिट छाप बनेर बसेको छ ।

अनि जीवनमा जतिसुकै आरोह अवरोहहरु आउँदा पनि तिमीमा आउने त्यो आत्मबल मेरो लागि अझ बिशेष छन् । तिमीलाई जीवनसाथी पाउनु नै मेरो लागि धेरै ठुलो कुरा हो, किनकि हरेकको भागमा तिमीले माया गरे जस्तो माया गर्ने मान्छे हुन्नन् । मेरो गल्तिमा मलाई बाटो देखाउँदै सहि बाटोमा जान आग्रह गर्ने तिमी मेरा गल्ती अनि कमि कमजोरीलाई पनि सहर्ष स्वीकार्न सक्ने तिमी मेरोलागि धेरै प्रिय छौ ।

के भनम तिमीलाई म मेरो सपनामा आफ्नो सपना सजाउछौ, मेरो खुसीमा आफ्नो खुसी देख्छौ हामीलाई पीडा हुन्छ भनि हरेक पटक आफ्नो पीडा लुकाउँछौ ।

मैले बुझेको छु तिम्रो विडम्वनालाई, नियालेको छु तिमी भित्रको त्यो भूमरीलाई । तिमीभित्र पनि गुम्सिएका छन् धेरै कुराहरु उकुसमुकुस भएका छन्, शब्दका भारहरु तर तिमी प्रकट गर्न सकदैनौ, किनकि तिमी हामीलाई दुस्खी देख्न र दुस्खी बनाउन चाहदैनौ ।

मैले महसुस गरेको छु तिम्रो त्याग १ यहि त्यागले गर्दा नि म झन् तिमीलाई अथाह प्रेम गर्छु । जब मलाई चिन्ता लाग्छ तिमीलाई सम्झिन्छु । अनि फेरि चिन्ता भित्रको चिताको डर लाग्छ । तिमीलाई सम्झिन्छु तिमी जस्तै म पनि गल्छु थाक्छु रुन्छु कराउँछु आत्तिन्छु अनि फेरि तिमीलाई नै सम्झिन्छु । त्यसैले त मैले माग्ने सम्झने सबथोकमा तिमीलाई सम्झिन्छु। नजिकबाट नियालेको छु मैले तिम्रा रहर तिम्रा इच्छा तिम्रा चाहानाहरु । तिमी भित्रको त्यो कहिले नमर्ने आशालाई हो धेरै नजिक बाट नियालेको मैले । तेहि आशाको त्यान्द्रो नै हाम्रो जीवनलाई बाध्ने मजबुत डोरी भएको छ ।

एउटा सहयात्रीको नाताले तिमी भित्र उठेका जीवन र संघर्षका ज्वारभाटाहरुलाई मैले पनि महशुस गरेको छु । आग्रह छ तिम्रो आँट र हिम्मतको दियोमा मैलेपनि तेल थपिरहेको छु, निभ्न नदिनु। म बिस्वास दिलाउछुकि तिमी कुनैपनि हालतमा हिम्मत नहार, तिमी हिम्मतको सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राख, म तिम्रो आँट भरोसाको सतिशाल हुनेछु ।

सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । आत्मविश्वासमा कहिलेपनि कमि हउन नदिनु किनभने देखेको सपना पुरा गर्न तिम्रो जीवनसाथी प्रतिबद्ध छे । तिम्रो हिम्मत बनेर हरेक दुख सुख अफ्ट्यारो आरोह अवरोहहरुमा म सधैं तिम्रो छाँया बनेर साथ दिईरहेको हुनेछु ।

यी दिनहरुमा हामीले धेरै कुराहरुको महसुस गर्न पाएका छौं । आफ्नाहरुको पराय ब्यबहार, तिरस्कार, अपहेलनालाई उर्जाको रुपमा लिनुपर्छ । उर्जा सकारात्मक नै हुन्छ । सकारात्मक सोच नै सफलताको कसी हो । सफल हुन संघर्ष गर्नैपर्छ । संघर्ष जीवनको सिक्काको एक पाटा हो । संघर्ष भएनभने जीवन पूर्ण हुदैन पनि । यही संघर्षलाई सहर्ष स्वीकर गर्नै पर्छ ।

समयको चक्र र गतीलाई बदल्न हामीले सक्दैनौं । समयको चक्रमा हामी निरन्तर नथाकी, नआत्तिई यात्रा गर्नुपर्छ, अवश्य लक्ष्यमा पुगिन्छ ।बिगतलाई सम्झने, बर्तमनमा मेहनत गर्ने र भविस्यमा सफलहुने नै जीवन हो । यो जीवन यात्रामा आउने हरेक चुनौतीहरुलाई स्वीकर गर्नै पर्छ । यो यात्राम बिचलित हुनुहुन्न । सगरमाथा झै अडिग हुनुपर्छ ।

 

तिमी मेरो हौसला र प्रेरणाको खानी हौ । म तिम्रो माया, साथ र हौसला र प्रेरणाको डाईहर्ट फ्यान हूँ । मैले देखेका सपनामा तिमीले सजाएको हरेक सपनाका फूल फुलाउन हर कोसिस गर्नेछु। संगै देखिएका सपनाहरु पुरा गर्ने हिम्मत भगवानले हामीलाई प्रदान गरुन । तिम्रो हरेक अवस्था र परिस्थितिमा मा संगै रहनेछु धेरै माया र सम्झना मेरो जीवनसाथी । पुनः प्रणय दिवसको शुभकामना, डियर मनोज !

प्रतिक्रिया