जाडोमा कसरी सावधानी अपनाउने ? यस्ता छन् डा. ओम मूर्ति अनिलको टिप्स
जाडोको समयमा स्वास्थ्यमा विभिन्न खाले समस्या देखिने गर्छन् । यो समयमा दैनिक क्रियाकलाप र खानपानमा विशेष सावधानी अपनाउनुपर्ने मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको सुझाव छ । जाडो मौसममा स्वास्थ्यमा जोखिम आउन नदिनका लागि प्रशस्त पानी पिउनुपर्ने उनले बताए । शरीरमा पानीको मात्रा प्रशस्त भएमा रगतको अवस्था सही हुने उनको भनाइ छ । यस्तै चिसोमा हिँडाइको गति कम गर्नुपर्ने उनको सुझाव छ ।
यद्यपि हिँडाइको गति कम गरेपनि अवधि भने बढाउनुपर्ने अनिलको भनाइ छ । यसैगरी शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि शरीरलाई सक्रिय अर्थात् वाम अप गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै मदिरा र चुरोट सेवन गर्दा जाडो महिनामा मुटुमा हुने असरलाई झन् बढाउने भएकाले त्यसतर्फ पनि उनले सचेत गराएका छन् ।
यसैगरी धेरै चिल्लो खानेकुरा नखान पनि उनको सुझाव छ । जोडोमा कोलेस्टेरोल बढ्ने भएकाले धेरै चिल्लो खान नहुने उनको भनाइ छ । यस्तै, मुटुरोग, प्रेसर सुगर, कोलेस्टेरोल आदिको औषधि प्रयोगकर्तालाई आफ्नो मात्रा नछुटाउन उनले आग्रह गरेका छन् ।
मुटु रोगको प्रमुख लक्षण ‘एन्जिना’ चिसोमा बढी देखिन्छ भन्दै उनले यस्तो अवस्थामा डाक्टरलाई देखाउन जरुरी हुने बताएका छन् ।