हेटौंडा-८ मा निःशुल्क बृहत् स्वास्थ्य शिविर, ४६० जनाले लिए सेवा
हेटौंडा-८ मा टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा सम्पन्न निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ४६० जना स्थानीयवासी लाभान्वित भएका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रिसर्च सेन्टर, हेटौंडा–८ मा आयोजित शिविरमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, बालरोग, नाक कान तथा घाँटी, दन्तरोग लगायतका विशेषज्ञ सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श, विभिन्न रोगको प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को सहयोग तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न शिविर टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-८ का अध्यक्ष कुमार केसीको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, कार्यक्रम संयोजक चिरञ्जीवी चुडाल, नगर कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्का, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारी, निवर्तमान नगर कार्यपालिका सदस्य यशोदा उप्रेती, नगर समन्वय समितिका सचिव शुशिला मल्ल, सदस्यहरू सुमित्रा पाण्डे र कमला पौडेल, सुपेन्द्र कार्की, रोजिता दंगाल, वडा समन्वय समितिका उपाध्यक्ष भानु गौतम, सचिव अर्जुन दुलाल, कोषाध्यक्ष राम कोइराला लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
डा. हरिबहादुर खड्काले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने यस्ता शिविरले समयमै स्वास्थ्य परीक्षण र रोग पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्थामार्फत नागरिकको स्वास्थ्य, सरसफाइ र सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ का अध्यक्ष कुमार केसीले वडावासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविर सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने टोल विकास संस्था वडा समन्वय समिति परिवार, सम्पूर्ण टोल विकास संस्थाहरू, चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र सहभागी वडावासीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।


