विद्यार्थी घट्दै गएको चिन्ताबीच वडा अध्यक्ष मोक्तानको सुझाव : गुणस्तरीय शिक्षा दिएर विद्यार्थी आकर्षित गरौँ
हेटौँडा / सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउँदै गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हेटौँडा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले जोड दिएका छन्।
हेटौँडा–१५, रातोमाटेस्थित श्री जनजागृति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा शुभदीपावली, छठलगायत विभिन्न पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोक्तानले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आए पनि अभिभावकको विश्वास अपेक्षाकृत बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले विगतको तुलनामा विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानुका पछाडि जनसङ्ख्या र बसोबासको स्वरूपमा आएको परिवर्तन, टोलबस्तीमा जनसङ्ख्या घट्नु तथा आफ्ना छोराछोरी विदेशिने क्रम बढ्नुजस्ता कारण रहेको बताए।
विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थालाई चुनौतीका रूपमा लिँदै उनले विद्यालयले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था नभई विद्यार्थी र अभिभावक आफैँ गुणस्तरीय शिक्षाको खोजी गर्दै विद्यालय आउने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।
‘विद्यालयले विद्यार्थी खोज्ने होइन, विद्यार्थीले विद्यालय खोजेर आउने खालको गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग जति विद्यार्थी छन्, उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध हुनुपर्छ।’
अध्यक्ष मोक्तानले अहिले उद्योग तथा कलकारखानासमेत बन्द हुने अवस्था रहेको बताउँदै युवाहरू विदेशिने क्रम बढिरहेको सन्दर्भ उल्लेख गरे। उनले शिक्षा क्षेत्रलाई समयअनुकूल, व्यावहारिक र गुणस्तरीय बनाउनुपर्ने आवश्यकता औँल्याए। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न वडा कार्यालयका तर्फबाट आवश्यक पर्ने सबै प्रकारका साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रममा विद्यालयको दीर्घकालीन विकास, शैक्षिक गुणस्तर सुधार तथा आर्थिक रूपमा विद्यालयलाई सबल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गर्ने विषयमा समेत छलफल गरिएको थियो।
विभिन्न सङ्घसंस्था, सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूको सहयोगमा अक्षयकोष स्थापना गर्ने अभियान अघि बढाइएको छ। सोही क्रममा प्रारम्भिक रकमसमेत सङ्कलन गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज लोले अक्षयकोषलाई तत्काल १० लाख रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि अक्षयकोष महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै उनले सबै पक्षलाई सहयोगका लागि आह्वान गरे।
विद्यालयको शैक्षिक उन्नति केवल विद्यालय परिवारको जिम्मेवारी नभई अभिभावक, पूर्वविद्यार्थी, सामाजिक सङ्घसंस्था र स्थानीय समुदाय सबैको साझा दायित्व भएको कार्यक्रममा सहभागी वक्ताहरूले धारणा राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज लोको सभाध्यक्षता तथा हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सिंहबहादुर लो, विद्यालय परिवार, सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभदीपावली, छठलगायत पर्वको शुभकामना आदानप्रदानसँगै विद्यालयको भविष्य, सामुदायिक शिक्षाको सुधार र अक्षयकोष निर्माणका विषयमा छलफल गरिएको थियो।

