बगर–चोकटी जोड्ने बगर सुनकोसी पुलको मन्त्री पौडेलद्वारा शिलान्यास
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. २ बगर र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटी जोड्ने बगर सुनकोसी पुलको शिलान्यास बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलज्यूले गर्नुभएको छ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको यस क्षेत्रको सडक तथा पुल पूर्वाधार निर्माणले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै धार्मिक स्थल तथा पर्यटकीय गन्तव्यसम्मको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा मन्त्री पौडेलले पुल निर्माणको कामलाई उच्च प्राथमिकतामा राख्दै यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। उहाँले निर्माण कार्यमा ढिलासुस्ती नगर्न, आवश्यक जनशक्ति तथा निर्माण सामग्री परिचालन गर्न र निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गर्नुभयो।
मन्त्री पौडेलले प्रदेश सरकारले तत्कालीन आवश्यकता पूरा गर्ने आयोजनासँगै दीर्घकालीन महत्व र उपयोगिता राख्ने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। सडक तथा पुलजस्ता पूर्वाधारले स्थानीय नागरिकको जीवन सहज बनाउनुका साथै आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय गतिविधिलाई समेत गतिशील बनाउने उहाँको भनाइ थियो।
यसैगरी, बाह्रबिसे–बुदेपा–बगर सडकको स्तरोन्नतिसहित यस क्षेत्रको समग्र सडक सञ्जाललाई व्यवस्थित र स्तरीय बनाउने गरी प्रदेश सरकारले आवश्यक काम अघि बढाउने प्रतिबद्धता पनि मन्त्री पौडेलले व्यक्त गर्नुभयो।
स्थानीय तहबीचको सडक पहुँच विस्तार, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र नागरिकको दैनिक आवागमनलाई सहज बनाउने दिशामा बगर सुनकोसी पुल निर्माण महत्वपूर्ण पूर्वाधारका रूपमा रहने अपेक्षा गरिएको छ।

