चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

पालिका डायरी
२० कार्तिक २०८३, १६:३७
चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका वडा नं. १२ का १७ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

पुर्जा प्राप्त गर्ने परिवारमध्ये एक परिवार भूमिहीन दलित, चार परिवार भूमिहीन सुकुम्बासी र १२ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। लामो समयदेखि आफूले बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीयवासी जग्गाधनी पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। पुर्जा प्राप्त भएपछि उनीहरूमा वर्षौंदेखिको जग्गा स्वामित्वसम्बन्धी अन्योल अन्त्य हुनुका साथै सुरक्षित आवास र स्थायित्वको आधार तयार भएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। उनीहरूको भूमि स्वामित्वसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरी कानुनी रूपमा जग्गाधनी बनाउने सरकारी लक्ष्यअनुरूप लालपुर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइएको हो।

रत्ननगर–१२ का १७ परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्नु भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रतिक्रिया