सरकारलाई रविको सुझाव : जनताको अपेक्षा बुझ्नुस्, लोकतन्त्रको अवमूल्यन नगर्नुस्

पालिका डायरी
२० कार्तिक २०८३, १६:२७
अदालत, प्रहरी, प्रेस कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहदैनः

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन पुगेर अर्थपूर्ण सम्बोधन गरेका छन् ।

पार्टीलाई जानकारी नै नदिएर रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेको भोलिपल्ट चितवन झरेका लामिछानेले प्रधानमन्त्री शाहलाई चेतावनीसहित सुझाव दिएका हुन् । उनले पार्टीलाई केही कुरा सिकाउँदा अन्यथा लिन नहुने बताए ।

‘यस्तो कुरामा पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो । यिनीहरू फुट्न थाले। उसलाई यसो भन्न थाले, उसो भन्न थाले भनेर दुई वटा फोटो टाँसेर केही गर्नेवाला छैन,’ लामिछानेले भने, ‘रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ। डराएर होइन, कराएर भनिरहन्छ ।’

उनले लोकतन्त्रका लागि भएको संघर्षको स्मरण गरे । रगत बगाएर लोकतन्त्र प्राप्त भएको उनको भनाइ थियो । ‘आज यो मुलुकको लोकतन्त्र, जसलाई हामीले कम योगदान दिएका होलाऔँ । हामीले स्वतन्त्र प्रेस, मानवअधिकार प्रत्याभूति, विभिन्न संस्थाहरू, अदालत यी सबै कुराहरू यसै प्राप्त भएका होइनन,’ लामिछानेले भने ।

लोकतन्त्रको अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ थियो । ‘घन्टी बजाउँदै हिड्दै, रवि दाइ हाइ हाइ भन्दै प्राप्त भएका होइनन। मान्छे मरेका छन् । रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ,’ लामिछानेले भने, ‘त्यसको अवमूल्यन, अपमान गर्ने अधिकार हामी कसैलाई पनि छैन ।’ आफ्ना लागि लोकतन्त्रभन्दा ठूलो कुरा केही नभएको उल्लेख गरे । ‘मैले यस कारणले भनेको हुँ, डेमोक्रेसी भन्दा ठूलो केही पनि छैन मेरा लागि,’ लामिछानेले थपे ।

उनले यसलाई फुटका रुपमा नलिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘यही कुरा तपाईँ हामी सबैले भन्नुपर्ने हुन्छ। त्यो कुनै विद्रोह, त्यो कुनै विग्रह, त्यो कुनै फुट या त्यो कुनै मतान्तरको संकेत होइन। यो त प्रतिबद्धता हो हाम्रो । रास्वपाको प्रतिवद्धता हो,’ उनले भने ।

उनले यसलाई सरकारको विरोधका रुपमा नलिन पनि सचेत गराए । ‘हामी हाम्रो सरकारको विरोधमा उत्रिएका पनि होइनौं । ठीकै छ, प्रतिपक्षहरू खुशी हुन मन छ, खुृशी हुनुस्। तपाईँहरूको खुशीको ठेक्का पनि हामीले नै लिएका रहेछौँ। अहिले पनि बोल्दिरहन्छौँ, ठीक छ,’ लामिछानेले भने ।

सरकारले जनताको अपेक्षा बुझ्नुपर्ने उनको भनाइ छ । ‘म निर्भिक भएर भन्न चाहन्छु– हाम्रो सरकारबाट जनताले गहिरो अपेक्षा गरेको बुझ्न जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया