जबराको सुरक्षाका लागि राति घरबाट कार्यालय ल्याएको प्रहरीको दाबी

पालिका डायरी
११ आश्विन २०८३, ११:१७
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राति घरबाट कार्यालयमा ल्याउनुको कारण उनको सुरक्षा रहेको दाबी गरेको छ। जबरामाथि भौतिक आक्रमण हुन सक्ने सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले उनलाई घरबाट कार्यालयमा ल्याएको जनाएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार शनिबार राति जबरामाथि भौतिक आक्रमण हुन सक्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचना पाएपछि प्रहरी टोली जबराको निवासमा पुगेको र उनलाई सम्भावित सुरक्षा जोखिमबारे जानकारी गराउँदै कार्यालयमा आउन सहमत गराएको खड्काले बताएका छन्।

आइतबार बिहान यसबारे प्रतिक्रिया दिँदै एसएसपी खड्काले जबरालाई तत्कालका लागि आफ्नै कार्यालयमा राख्दा बढी सुरक्षित हुने निष्कर्षसहित त्यहाँ ल्याइएको स्पष्ट पारे। उनका अनुसार प्रहरी टोलीले जबरालाई सुरक्षा अवस्थाबारे जानकारी गराएर छलफल गरेपछि कार्यालयमै ल्याउने निर्णय गरिएको थियो।

‘शनिबार राति उहाँलाई भौतिक आक्रमण हुँदै छ भन्ने सूचना प्राप्त भयो,’ खड्काले भने, ‘त्यसपछि हामी गएर उहाँलाई कन्भिन्स गर्‍यौँ र अब तत्काल त्यहीँ राख्ने कि के गर्ने भन्दा बरु हामीकहाँ नै ल्याउँदा सुरक्षा हुन्छ भनेर ल्याएका हौँ। अरू केही पनि होइन।’

खड्काले जबरालाई कार्यालयमा ल्याउनुको उद्देश्य उनको सुरक्षा सुनिश्चित गर्नु मात्रै रहेको दाबी गरेका छन्। यद्यपि, जबरामाथि आक्रमण हुन सक्ने सूचना कहाँबाट प्राप्त भएको थियो, सम्भावित आक्रमणमा को संलग्न हुन सक्ने आशंका गरिएको थियो वा सुरक्षा जोखिमको प्रकृति कस्तो थियो भन्ने विषयमा भने उनले विस्तृत जानकारी दिन चाहेनन्।

प्रतिक्रिया