भरिन लाग्यो कुलेखानी ड्याम, साइरन बजाउने तयारी

पालिका डायरी
११ आश्विन २०८३, १०:१६
फोटोः सुवास थापा मगर

लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । आइतबार बिहान ९ बजेको मापनअनुसार यहाँ पानीकाे सतह १ हजार ५२६ मिटर पुगेको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह अब एक मिटर बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ । वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलाशयको पानीको सतह चेतावनी तहभन्दा एक मिटर मात्रै तल रहेकाले कुलेखानी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ । नदी, खोला तथा जलाशयको तल्लो क्षेत्रमा रहेका नागरिकले जोखिमको अवस्था हेरी आवश्यक सुरक्षा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाएर पहिलो चरणको चेतावनी दिने जनाएको छ । साथै, यो सूचना सम्बन्धित सबैसम्म पुर्‍याई सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग गर्न पनि केन्द्रले अनुरोध गरेको छ । लगातारको वर्षाका कारण जलाशयमा पानीको आगमन बढिरहेको अवस्थामा कुलेखानीको जलस्तरलाई निरन्तर निगरानीमा राखिएको छ ।

वर्षा र जलाशयमा पानीको आगमनको अवस्था हेरेर आवश्यकताअनुसार थप सूचना तथा सतर्कता अपनाइने केन्द्रले जनाएको छ । यसअघि २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो ।

त्यसबेला बाँधको ढोका खोल्नुपर्ने स्थिति आउँदा इन्द्रसरोवर–३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । विगतको सोही विनाशकारी जोखिमलाई ध्यानमा राख्दै यसपटक उच्च सावधानी र आवश्यक पूर्वतयारी थालिएको स्थानीय प्रशासनले जनाएको छ ।

​३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइमा फैलिएको कुलेखानी जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङका साथै इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल यस जलाशयका प्रमुख जलाधार क्षेत्र हुन्।

प्रतिक्रिया