तिहारको देउसी–भैलोमार्फत एमालेमा युवा एकताको सन्देश, राष्ट्रिय युवा सङ्घ मकवानपुरले जुटायो नेता–कार्यकर्ता

पालिका डायरी
२४ कार्तिक २०८३, २१:०८

हेटौँडा /  मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पार्टीभित्र आपसी सद्भाव, एकता र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले राष्ट्रिय युवा सङ्घ नेपाल, मकवानपुरले देउसी–भैलो तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा एमाले मकवानपुरको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरू देउसी–भैलोको सांस्कृतिक उत्सवमा सहभागी हुँदै तिहारको शुभकामना साटासाट गरेका थिए। कार्यक्रमले पार्टी कार्यालयलाई उत्सवमय बनाउनुका साथै युवा पुस्तामाझ मौलिक संस्कृति संरक्षण र संगठनात्मक एकताको सन्देश प्रवाह गरेको थियो।

राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरका जिल्ला संयोजक प्रीतम रानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वोर राना प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौला, केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, मकवानपुर जिल्ला कमिटी सचिव सीता बिष्ट र उपसचिव आरती पाठकको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी नेता मदन दाहाल, पार्वती राना, जुना दाहाल, जिल्ला कमिटी सदस्यहरू नरेन्द्र भण्डारी, गोकर्ण तिवारी, प्रतिमा श्रेष्ठ, राजकुमार तिमल्सिना, राष्ट्रिय युवा सङ्घ नेपालका निवर्तमान अध्यक्ष राजेश नगरकोटी तथा नगर कमिटी सचिव शान्ता गौतमलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरू तथा युवा कार्यकर्ताहरूले देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। साथै चाडपर्व केवल रमाइलो र मनोरञ्जनको माध्यम मात्र नभई आपसी सम्बन्ध प्रगाढ बनाउने, सामाजिक सद्भाव कायम गर्ने र संगठनभित्र आत्मीयता बढाउने अवसरसमेत भएको धारणा व्यक्त गरेका थिए।

पछिल्लो समय संगठनलाई थप चलायमान, एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकताबीच राष्ट्रिय युवा सङ्घले आयोजना गरेको यस कार्यक्रमलाई सांस्कृतिक उत्सवसँगै संगठनात्मक एकताको सन्देशका रूपमा हेरिएको छ।

कार्यक्रममार्फत सहभागीहरूले तिहारको खुसी साटासाट गर्दै पार्टीको विचार, सिद्धान्त र संगठनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

प्रतिक्रिया