कुशे औँसी : तँपाईको एकदमै याद आइरहेको छ ‘बा’

पालिका डायरी
१७ भाद्र २०८१, १८:२७
कुशे औँसी : तँपाईको एकदमै याद आइरहेको छ ‘बा’

दुई दाजुबहिनी मध्येकी म कान्छी छोरी। दाई म भन्दा त्यस्तै २ बर्षले जेठो। घरकी कान्छि छोरी भएरै होला अलि चकचके, थोरै घमण्डी, जित्न सके मुसुक्क हाँस्दिने नसके रोइदिने यसरी नै बित्यो बालापन। सानामा बा आमाको काखमा बसेर अनुहारमा हेर्दै रुनुको मज्जा बेग्लै। एकातिर घुर्की लगाउँदै झरेको आँशु, अर्कातिर कुनबेला फकाउलान् भन्ने प्रतिक्षा।

दाईले औधि माया गर्ने। बेला बेला झगडा त पर्ने नै भयो। नत्र कहाँ माया देखिन्छ र! तर पनि मेरो गल्ति, कमजोरी, मैले गरेको विराम सबैलाई क्षणभरमै भूलेर माया गर्ने मेरो दाई। बा, आमा र दाई तीनजनालाई सताएरै बित्यो बालापन।

रिस पोख्ने, घुर्की लगाउने थलो भनेकै दाईको साथ र आमाक काख भयो। त्यसपछि मात्र बा को पालो। हुन त सानामा सबैभन्दा धेरै डर लाग्ने मान्छे नै मेरै बा हुन्। बा कामबाट घर फर्किएपछि अगाडि पर्न नपरोस् भनेर निदाएझैं गरी सुतेका थुप्रै साँझहरु याद छन्। कसो कसो बा भनेपछि सबैभन्दा धेरै डर लाग्थ्यो। जति डर सानामा भूतको कथा सुन्दा पनि कमै लाग्थ्यो। यो चाहिँ म निकै सानो हुँदाको अनुभव हुन्। सायद पहिले-पहिले प्रायः सबै बच्चाहरु बा देखि औधि डराउँथे।

ठुलो हुँदै गएँ। तब पो डर लाग्न छोड्यो। केहीबेर गफ गर्न सक्ने भएँ। तर आमासँग जति खुल्न त नसकिने रैछ जस्तो लाग्छ। सानो हुँदा डराएरै अघि पर्न नसक्ने म आजको दिन एकैछिन भए पनि तँपाईकै अगाडि बस्न मन लाग्यो। नजिक भएको भए केहीबेर गफ गरेर फर्किन्थेँ जस्तो महसुश भयो।

बिहान उठ्ने बित्तिकै सम्झिएँ, आज त बा को मुख हेर्ने दिन। बिहानै के फोन गर्नु जस्तो लागेर भान्सामा पसेँ। भान्साको कामले मोबाइल हेर्न भ्याएको थिइनँ। काम सकाएर मोबाइल हातमा टिपेर हेर्दा पो देखेँ मेरो बा ले बिहानै भिडियो कल गर्नुभएछ। दुई मिस कल भइसकेछ। अनि त्यो कल हेरेरै आँखा रसाए मेरा। अनि सम्झिएँ जीवनमा निस्वार्थ माया गर्ने मेरा बा लाई मैले बिहानै फोन गर्न पथ्र्यो। रिसाउनु भयो कि?
मनमा यस्तै कुरा खेलाउँदै भान्साको धन्दामै हात अघि बढाएँ। मनभरी माइतीघर अनि बाको याद सजाउँदै खाना बनाएँ। बेला-बेलामा आँखा टिलपिल भइरहे। भान्साको काम सघाइरहेका श्रीमान्ले देख्लान् भन्ने लाजले बिहानभरमा ५ पटक जति त बाथरुममै पसेँ होला। साँच्चै अरु बेलामा पनि याद नआउने त हुँदै होइन, तर आज खास दिन भएरै होला आँखाभरी तँपाईकै अनुहारको याद आइरहेको छ बा।

मेरा लागि तँपाईले गर्नुभएको योगदान। पढाउनका लागि गर्नुभएको त्यो दुख। अझ छोरीलाई पत्रकार नै बनाउने शोखले दिनुभएको त्यो साथ सम्झदै गर्दा कसरी आँसु रोकिन्छ त मेरो? पराईको घर गएपछि पराई जस्तै बनिदिनुपर्ने बाध्यतामा छौं हामी छोरीमान्छेहरु। पहिला घर, व्यवहार मिलाएर मात्रै माइती पुग्नपर्छ भन्ने मानसिकता बोकेरै होला यो औंशीमा मुख हेर्न आउन पाइएन। पाइएन भन्दा पनि आइएन भनौं।
तर पनि मेरा बा किन रिसाउँथे र! सबै काम सकाएर अफिस पुग्ने बित्तिकै बा लाई फोन गरेँ। उताबाट बा ले हाँस्दै भन्नुभयो, ए बल्ल फूर्सद भयो तँलाई? बा को अनुहारमा हेर्न नसक्ने गरी न्यास्रिएकी मेलै मन बाँधेर बा लाई हरेक दिन सोध्ने एउटै प्रश्न सोधेँ, के गरिरहनु भको? यति बोलेपछि आँखा रसाएको नदेखुन् भनेर क्यामरा बन्द गरिदिएँ। बा सँग धेरैबेर बोल्न नसकेपछि ममि खै त? भन्दै कुरा मोडेर अन्तै पुर्याइदिएँ।

नेपाली समाजमा एउटा उखान छ नि, ‘पढेर भन्दा परेर जानिन्छ।’ हो यस्तै भएर होला बा आजभोलि हरेक दिन तँपाईकै याद आउँछ। उ बेलामा बा सँग रिस उठ्यो कि मैले एउटै प्रश्न गर्थेँ, भनेको कुरा किन्दिन नसक्ने ले किन जन्माउनु? खालि दाईलाई मात्रै माया गर्छन्, म चाहिँ तँपाईको छोरी होइन कि क्या हो? आजकाल यी प्रश्नहरुको जवाफ भागेरै पाइरहेको छु मैले।

आजभोलि मेरा छोराछोरीको अनुहार हेरिरहँदा बा हजुरको खुब याद आउँछ। आखिर बा त बा नै हुँदो रहेछन्। आफ्ना छोराछोरीको खुसीका लागि आफू भोको, नाङ्गो भएर हिँड्न परे पनि कहिल्यै गुनासो नगर्ने तँपाईको महानता आजभोलि म मेरो छोराछोरीको अनुहार हेरेपछि सम्झन्छु।

आजभोलि मेरा बच्चाहरुले तँपाईको ज्वाइँको अनुहारमा हेर्दै बाबा आज जसरी पनि यो कुरा किन्दिनु ल, भन्दा ज्वाइँको भावुक अनुहारले तँपाईको खुब याद आउँछ बा। हाम्रै लागि नङ्ग्रा खियाएर गरेको त्यो दुख, तरतर बगेका पसिना, घर व्यवहारले भावुक भएका ती क्षणहरु सबै याद आइरहन्छ बा।

छोराछोरीको सफलता र खुसीमै रमाउने मेरा बाको ऋण तिर्न त कहाँ सकौंला र! म जे छु तँपाईकै योगदान र हौसलाका कारण छु। मेरै कति साथीका बाहरुले घरबाट बाहिर जानै नदिएर राखेका थुप्रै उदारणहरु देखेको थिएँ। म भाग्यमानी छोरी हुँ, मेरो बा ले मलाई कहिल्यै लगाम लगाउनुभएन। मेरो खुसी भन्दा परको सपना देख्नुभएन। मेरो सफलतामा भक्कानिदै हर्षका आँसु भन्दै पुछ्नुभएको त्यो दिन म कहाँ भुल्न सक्छु र बा।

घरमा सबै जान्ने, बुझ्ने पाकी भएकी म तँपाईको दैलोमा टेक्ने बित्तिकै बच्चाको जस्तै व्यवहार गर्न मन लाग्छ। धेरै धेरै सम्झना मेरो बा। अर्को बर्षको कुशे औंशी भव्य बनाउनपर्छ है!

 

प्रतिक्रिया