बागमतीमा लम्पी स्किन रोगको प्रभावबारे अन्तरक्रिया सम्पन्न

हेटौंडा / बागमती प्रदेशमा लम्पी स्किन रोगका कारण दूग्ध उत्पादक किसानहरुमा परेको समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । प्रदेश दूग्ध विकास बोर्डको आयोजनामा बुधबार हेटौंडामा भएको कार्यक्रममा जिल्ला दूग्ध उत्पादक सहकारी संघहरुसँग लम्पी स्किन रोग सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
माहामारीको रुपमा फैलिएको लम्पी स्किनका कारण प्रदेश दूध उत्पादनको अवस्था, चुनौती र बजारिकरणको बिषयमा छलछल गरिएको थियो। प्रदेशका विभिन्न जिल्लाहरुबाट कार्यक्रममा सहभागी हुन आएका दूग्ध सहकारीका प्रतिनिधिहरुले लम्पी स्किनका कारण किसानमा विभिन्न प्रकारका समस्या आएको बताए । उत्पादित दूध खान हुने कि नहुने अनविज्ञताका कारण दूध बिक्रीमा कमि आएको उनीहरुले बताए । यस्तै, लम्पी स्किन रोगबाट संक्रमित गाईभैंसीमा खोप यथाशिघ्र पुर्याउन समेत बोर्डलाई आग्रह गरे।
यस्तै, कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले आगामी २५ गतेबाट सप्ताहव्यापी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । प्रदेशको १३ वटै जिल्लामा स्थानीय तहसँगको सहकार्यमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन लागिएको बताए ।
यता, दूग्ध विकास बोर्डका उपाध्यक्ष टिकाभल्लव सापकोटाले कृषक, दूग्ध सहकारी र व्यापारी मिलेर अघि बढ्नुपर्ने बताए । किसानहरुको समस्या समाधानको लागि प्रदेश सरकारले के गर्ने भन्ने बिषयमा छलफल सुरु गरिएको उनको भनाइ छ । लम्पी स्किन रोग रोकथामका लागि पहल सुरु भएको बताउँदै उनले भने, ‘हामीले साइलेज उत्पादनमा अघिल्लो बर्ष लगानी गरेका थियौं। अहिले त्यो सफल भएको छ । यो बर्ष पनि यस्ता थुप्रै कार्यक्रमहरु छन् । यो बर्ष पनि साइलेज उत्पादनका लागि अनुदान ल्याएका छौं ।’
उपाध्यक्ष सापकोटाले बागमतीका किसानहरुलाई दग्ूध उत्पादनमा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको बताए । बोर्डका उपाध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव शरण कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देश गौरीमान श्रेष्ठ, कृषि विकास निर्देशनालय बागमतीका निर्देशक तेज प्रसाद दवाडी लगाएतको आतिथ्यता रहेको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघहरु संग विविध समस्या (लम्पी स्कीन रोग) सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्नुहुँदै प्रदेश दुग्ध विकास बोर्ड बागमतीका उपाध्यक्ष टिका बल्दव सापकोटा ।
Posted by पालिका डायरी डटकम on Wednesday, August 2, 2023