विकास निर्माणमा ढिलासुस्ती सह्य हुँदैन : मुख्यमन्त्री थापा

पालिका डायरी
६ आश्विन २०८३, २१:३६

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा ढिलासुस्ती सह्य नहुने बताउनुभएको छ। उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको भुक्तानी दिने र मूल्याङ्कन गर्ने प्राविधिक तथा कर्मचारीहरू स्वयं कारबाहीको भागीदार हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो।

जिल्ला समन्वय समिति दोलखाद्वारा मंगलबार दोलखामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले अनियमितता र कमजोरीहरूलाई सार्वजनिक गरी पारदर्शी बनाउन सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह गर्नुभयो।

मुख्यमन्त्री थापाले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेको बताउनुभयो। प्रदेश सरकारद्वारा विनियोजित बजेट सडक सञ्जालका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा कृषिजस्ता क्षेत्रमा विशेष प्राथमिकताका साथ विनियोजन भइरहेको जानकारी गराउनुभयो।

विशेषगरी स्वास्थ्य क्षेत्रमा पशुपति चौलागाईं अस्पतालको स्तरोन्नति गर्दै डायलासिस तथा अन्य विशेषज्ञ सेवा सुरु गरिएको र बाँकी आवश्यकताहरूलाई पनि क्रमशः पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भर्खरै बागमती प्रदेशको रसुवास्थित भोटेकोसीमा आएको बाढी तथा विभिन्न जिल्लामा गएको बाढी–पहिरो र विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउँदै मुख्यमन्त्रीले उद्धार र राहतको पहिलो चरण सकिएकाले अब पुनर्निर्माणमा लाग्ने बताउनुभयो।

अर्बौँ रुपैयाँको क्षति भएकाले प्रदेशको सीमित साधन–स्रोतले मात्र नपुग्ने हुँदा दोलखाका ९ वटै पालिका तथा अन्य प्रदेश सरकारहरूलाई पनि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्नुभयो। सहयोग गर्ने पालिका तथा प्रदेशको नाम पुनर्निर्माण गरिने संरचना र शिलालेखमा समावेश गरिने उहाँले घोषणा गर्नुभयो।

राजनीतिक वाद–विवाद र आरोप–प्रत्यारोपभन्दा माथि उठेर सबै जनप्रतिनिधिहरूले इमानदार भएर काम गरेमा मात्र दोलखासहित समग्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिने बताउँदै दुई दिने समीक्षा गोष्ठीबाट प्राप्त ठोस निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीतिमा समावेश गरिने उहाँले जानकारी दिनुभयो।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदीश खरेल, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य ठुला थामी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया