खेलाडीलाई प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री थापा
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ।
हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा शनिबार आयोजित दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले प्रदेशका सबै क्षेत्रमा सम्भावना भएका खेलाडी उत्पादन गरी व्यवस्थित रूपमा अघि बढाउने नीति सरकारले लिने बताउनुभयो। खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले १३ जिल्ला र ११९ स्थानीय तहमा माग र सम्भावनाका आधारमा खेलकुद बजेट विनियोजन गर्दै आएको बताउनुभयो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले देशको झण्डा बोकेर प्रतिस्पर्धा गर्दा नेपालको पहिचान र गौरव बढ्ने उहाँले बताउनुभयो।
खेलाडीलाई ठेक्कापट्टा तथा निर्वाचनलगायतका स्वार्थका लागि प्रयोग गर्न नहुने बताउँदै मुख्यमन्त्री थापाले खेललाई आत्मरक्षा र प्रतिस्पर्धाको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। वडा, पालिका र जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो। प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत प्रतियोगिता आयोजना, बजेट विनियोजन तथा आवश्यक स्थानमा डोजाङ, रंगशाला, कभर्डहल र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो।



