भीमफेदीको सानुटारमा उज्यालो नेपाल पार्टीको ‘उज्यालो संवाद’ सम्पन्न

पालिका डायरी
१६ कार्तिक २०८३, १८:३०

भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार ‘उज्यालो नेपाल पार्टी’ले टोल भेला तथा स्थानीय नागरिकहरूसँग ‘उज्यालो संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी छाडेर भर्खरै मात्र उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएका नेता लोकबहादुर घिसिङले आम नागरिकहरूलाई उज्यालो नेपाल पार्टीमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँले पार्टीसँग नेपाली माटो सुहाउँदो स्पष्ट कार्यक्रम रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सक्ने ठोस आधार उज्यालो नेपाल पार्टीसँग मात्र रहेको दाबी गर्नुभयो ।

नेता घिसिङले पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा जल, जमिन, जंगल र जडीबुटीको व्यावसायिक उत्खनन, उत्पादन, बिक्री-वितरण तथा बजारीकरणमार्फत नेपाली जनतालाई वास्तविक समृद्धि दिलाउन सकिने बताउनुभयो । सोही सम्भावना र प्रतिबद्धताका कारण सबैलाई उज्यालो नेपाल पार्टीमा जोडिन उहाँले अनुरोध गर्नुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका अध्यक्ष आशिष असलामीले समृद्धि, सुशासन र सामाजिक न्यायका लागि उज्यालो नेपाल पार्टीको गठन भएको स्पष्ट पार्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीले नै नेपाली जनतालाई वास्तविक समृद्धि र निकास दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेष अभियानका रूपमा सञ्चालित उक्त कार्यक्रममा नयाँ सदस्यहरूलाई सदस्यता वितरण, टोल कमिटी गठनका साथै उज्यालो नेपाल पार्टीको नीति, विचार र भावी कार्यक्रमका बारेमा स्थानीयहरूलाई विस्तृत जानकारी गराइएको थियो ।
कार्यक्रममा पार्टीका कोषाध्यक्ष योगेन घलानका साथै नेताहरू मानव तामाङ, राजीव तामाङ, विजय थिङ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया