मानवीय सुरक्षा कमजोर हुँदा भौतिक विकासको अर्थ छैन : वडा अध्यक्ष सिग्देल

पालिका डायरी
१६ कार्तिक २०८३, १०:२०
खेलकुद विकासमा वडा अध्यक्ष सिग्देलको जोड

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले मानवीय विकासका प्रमुख अवरोधका रूपमा रहेका सामाजिक विकृति, हिंसा, साइबर अपराध, लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार, समुदाय र प्रशासनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

सिग्देलले सहरभित्र हुने सडक दुर्घटना, साइबर अपराध, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकामाथि हुने शारीरिक र मानसिक हिंसा र लागूऔषध दुर्व्यसन समाजका गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरेका छन्।

उनका अनुसार यी समस्याहरू कतिपय अवस्थामा एकअर्कासँग जोडिएका हुन्छन् भने कतिपय अवस्थामा अलग-अलग रूपमा देखिन सक्छन्। यस्ता समस्याले समाजको शान्ति सुरक्षा मात्र प्रभावित नगरी प्रत्यक्ष रूपमा नागरिकको जीवन र समग्र मानवीय विकासमा समेत असर पुर्‍याइरहेका छन्।

सिग्देलले यी समस्याको न्यूनीकरणका लागि नागरिक स्वयं सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। दैनिक जनजीवनमा आवश्यक सावधानी अपनाउनेदेखि सामाजिक विकृतिविरुद्ध आवाज उठाउनेसम्म हरेक नागरिकको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

स्थानीय सरकार, स्थानीय समुदाय र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके यस्ता समस्यालाई न्यूनीकरण गर्न सकिने उनले बताएका छन्।

मानवीय जीवन नै सुरक्षित नभए अरू विकासको अर्थ रहँदैन। भौतिक विकास जति गरे पनि मानवीय विकासमा यस्ता समस्याहरू अवरोध हुन्,’ सिग्देलले भनेका छन्।

उनले विकासलाई सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै सुरक्षित, सभ्य, सचेत र जिम्मेवार समाज निर्माणलाई पनि विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताएका छन्।

समाजमा शान्ति, सुरक्षा र मानवीय मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सिग्देलले सभ्य समाज निर्माणको अभियानमा एकजुट हुन आह्वान गरेका छन्।

प्रतिक्रिया