कुलेखानी हुँदै काठमाडौँ आउजाउ गर्ने सडकमा आवागमनमा रोक
लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौं जोड्ने सडकमा १२ घण्टाका लागि सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सूचना जारी गरी शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो।
बंगालको खाडीमा विकसित भएको अर्नब चक्रवातका कारण कात्तिक १२ गते देशभर वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेको र कुलेखानी जलाशयको सतहसमेत तीव्र गतिमा बढिरहेकाले यातायात रोक्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयको सतह शनिबार साँझ ५ बजे १५२८.५० मिटर पुगेको छ। जलाधार क्षेत्रमा थप भारी वर्षा भए जलाशयको सुरक्षा तथा पानीको सतह सन्तुलित राख्न बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्ने केन्द्रले जनाएको छ। गेट खोल्नुपर्ने अवस्था आएमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने जोखिम रहेको उनले बताए।
सम्भावित बाढी तथा पहिरोबाट मानवीय र भौतिक क्षति हुन नदिन रातिको समयमा उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनले तोकिएको समयसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ।


