वडाध्यक्ष कप राष्ट्रिय स्नुकर च्याम्पियनसिपको उपाधि हेटौँडाका सोम लामालाई

पालिका डायरी
१४ कार्तिक २०८३, २१:१५

हेटौँडा /   खेलकुद विकासलाई भाषण र आश्वासनमा मात्र सीमित नराखी स्थानीय तहबाटै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको हेटौँडा उपमहानगरपालिका–१५ द्वारा आयोजित पहिलो संस्करणको ‘वडाध्यक्ष कप–२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप–१६)’ को उपाधि घरेलु खेलाडी सोम लामाले हात पारेका छन

शनिबार सम्पन्न रोमाञ्चक फाइनल प्रतिस्पर्धामा काठमाडौंका वाङ्चुङ तामाङलाई पराजित गर्दै लामाले उपाधि हेटौँडामै राख्न सफल भएका हुन्। उपाधिसँगै लामाले एक लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे भने उपविजेता वाङ्चुङले ५० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा धनगढीका रोहित क्षेत्री र काठमाडौंका मिलन तामाङ तृतीय भए। त्यस्तै, पोखराका सोम विकले १०७ अङ्कको सेन्चुरी ब्रेक गर्दै ‘हाइएस्ट ब्रेकर’ को उपाधि हात पारे।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले खेलकुदलाई केवल मनोरञ्जन र प्रतिस्पर्धाको विषयका रूपमा नभई पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने बताए।
उनले खेलकुद सामाजिक सद्भाव कायम गर्ने माध्यम मात्र नभई व्यावसायिक अवसर सिर्जना गर्ने महत्त्वपूर्ण क्षेत्रसमेत भएको उल्लेख गरे।

स्नुकर खेलमा आवश्यक धैर्यता, एकाग्रता, अनुशासन र बौद्धिक क्षमताको चर्चा गर्दै मन्त्री तामाङले यस खेलप्रति समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए। स्नुकरलगायतका खेलको प्रवर्द्धन र खेलाडीको क्षमता विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले पहिलोपटक राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता आयोजना गर्दा प्राप्त अनुभव र देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै थप व्यवस्थित रूपमा अघि बढ्ने बताए।
उनले प्रतियोगिताले हेटौँडाको पहिचान राष्ट्रियस्तरमा विस्तार गर्नुका साथै युवामा अनुशासन, धैर्यता, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्थानीय तहको विकासलाई सडक, नाला र भवन निर्माणमा मात्र सीमित राख्ने परम्परागत सोचभन्दा फरक रूपमा खेलकुदमार्फत युवाको प्रतिभा उजागर गर्ने प्रयासले वडा नम्बर १५ को भूमिकालाई नयाँ ढङ्गबाट प्रस्तुत गरेको छ।

वडाध्यक्ष मोक्तानको पहलमा आयोजित यस प्रतियोगिताले इच्छाशक्ति र योजनाबद्ध प्रयास भए स्थानीय तहले पनि राष्ट्रियस्तरका खेलकुद गतिविधिको नेतृत्व गर्न सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ। स्थानीय तहको लगानी, राष्ट्रियस्तरको पहिचान देशका विभिन्न स्थानबाट उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताले हेटौँडालाई राष्ट्रिय स्नुकर खेलको प्रतिस्पर्धात्मक गन्तव्यका रूपमा चिनाउने अवसर प्रदान गरेको छ। स्थानीय सरकारको बजेट केवल परम्परागत विकास निर्माणमा खर्च गर्ने कि युवा, खेलकुद र नयाँ सम्भावनाका क्षेत्रमा समेत लगानी गर्ने भन्ने बहसका बीच वडा नम्बर १५ को यो प्रयास अर्थपूर्ण देखिएको छ।

हेटौँडास्थित लियम स्नुकर हाउसमा सम्पन्न समापन कार्यक्रम हेटौँडा–१५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको अध्यक्षतामा भएको थियो। विजयी खेलाडीहरूलाई मन्त्री तामाङ, वडाध्यक्ष मोक्तान र राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया