कांग्रेसका दुई जिल्ला सभापतिको छलाङ : पहिलो प्रयासमै केन्द्रीय समिति पुग्न सफल
बागमती प्रदेशका दुई जना कांग्रेस जिल्ला सभापतिले केन्द्रीय समितिमा फड्को मारेका छन्। कांग्रेसको जिल्ला कार्यसमिति नेतृत्व गरिरहेका काभ्रेपलाञ्चोकका तीर्थ लामा र मकवानपुरका बुद्ध लामा एकैपटक पार्टीको केन्द्रीय समितिमा पुग्न सफल भएका हुन्।
हालै भएको पन्ध्रौँ महाधिवेशनबाट दुवै जिल्ला सभापति केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति समूहबाट प्रतिस्पर्धा गरेका तीर्थ र बुद्ध दुवैजान विजयी भएका हुन्। काभ्रेपलाञ्चोक कांग्रेसका सभापति तीर्थ लामा आदिवासी जनजाति समूहबाट ४ हजार ८५७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
जनजाति खुलातर्फ ४१ उम्मेदवार बनेकामा १२ जना निर्वाचित भएकामध्ये लामाले सर्वाधिक मत प्राप्त गरेका छन्। २०६४ सालमा क्षेत्रीय उपसभापतिबाट संगठनात्मक यात्रा सुरु गरेका उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति बनेका थिए। नेपाल तामाङ संघको केन्द्रीय सदस्यका रूपमा २०६८ देखि २०७१ सम्म काम गरेका तीर्थले जनजाति आन्दोलनमा समेत भूमिका निर्वाह गरेका थिए।
कांग्रेसको १४ औँ महाधिवेशनबाट काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित उनी संविधानसभा सदस्यसमेत बनेका थिए। संविधान निर्माणमा योगदान गरेका उनले २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। त्यस्तै, मकवानपुर कांग्रेसका सभापति बुद्ध लामा आदिवासी जनजाति खुलातर्फ १ हजार ९५६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
यस समूहमा १२ पदका लागि ४१ जना प्रतिस्पर्धामा रहेकामा उनी आठौँ स्थानमा निर्वाचित भएका हुन्। २०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बुद्धले हेटौँडा–४ को वडा सचिवबाट सांगठनिक जिम्मेवारी सम्हाल्न थालेका थिए।
२०४८ सालमा वडा सचिव बनेका उनी क्षेत्रीय सभापति हुँदै २०५२ सालमा जिल्ला कार्यसमिति सदस्य बने। पार्टीको जिल्ला सहसचिव, कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका उनी २०७८ फागुनमा भएको जिल्ला अधिवेशनबाट मकवानपुर कांग्रेसको सभापति निर्वाचित भएका थिए।
बुद्धले २०४२ सालको सत्याग्रह तथा २०४६ र २०६२–६३ को जनआन्दोलनका क्रममा प्रहरी हिरासतमा समेत समय बिताएका थिए। पार्टीको जिल्ला नेतृत्वसँगै उनले बागमती प्रदेश सरकारको राजनीतिक सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका थिए। २०८२ भदौ १२ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई तत्कालीन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको थियो।


