आरुघाट बाढी प्रभावित क्षेत्रमा मन्त्रीको सक्रियता

पालिका डायरी
२७ आश्विन २०८३, १२:२१

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आरुघाट बजार र गोरखाको आरुघाट बजार जोड्ने पक्की पुलसहितका संरचनामा क्षति पुगेपछि बागमती प्रदेश सरकारले पुनर्निर्माण तथा राहतका काम अघि बढाउने भएको छ। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङको नेतृत्वमा पुगेको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै स्थानीय समस्या बुझ्नुका साथै तत्काल समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य डम्बर तामाङ, नेकपाका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेललगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए। बाढीबाट क्षतिग्रस्त क्षेत्रमा बेलीबृज निर्माणका लागि नेपाली सेना र सडक विभागको सहभागितामा काम अघि बढाउने प्रक्रिया सुरु गरिएको छ। त्यसैगरी, आरुघाट पुलदेखि मान्पाङ–बसेरी जाने प्रादेशिक सडकको मर्मत तथा पुनःसञ्चालनका लागि पूर्वाधार विकास कार्यालय धादिङसँग समन्वय गरी प्राविधिक टोली खटाउने र काम अघि बढाउने निर्णय भएको छ।

टोलीले बाढी प्रभावितका लागि व्यवस्थापन गरिएको होल्डिङ सेल्टरको समेत निरीक्षण गरेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन प्रदेश सरकारको तर्फबाट स्वास्थ्यकर्मी परिचालन गरी पीडितलाई सेवा उपलब्ध गराइएको मन्त्री तामाङको सचिवालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा देखिएको खानेपानी तथा सिँचाइको समस्या समाधानका लागि सम्बन्धित कार्यालयका प्रमुखहरूलाई समेत उपस्थित गराई आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिइएको छ। यसैगरी, मुख्यमन्त्रीसँग समन्वयात्मक बैठक गरी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले गर्नुपर्ने पुनर्निर्माण, पूर्वाधार मर्मत, स्वास्थ्य सेवा तथा अन्य राहतसम्बन्धी कामलाई छिटो अघि बढाउने तयारी गरिएको छ।

प्रतिक्रिया