नारायण लामाका दुई म्युजिक भिडियो सार्वजनिक, पत्रकार देवराज पन्तको अभिनय

पालिका डायरी
११ मंसिर २०८३, २०:११

स्थानीय कला, संस्कृति र पर्यटनलाई गीतसंगीतका माध्यमबाट चिनाउने प्रयासस्वरूप गायक नारायण लामाको स्वरमा रहेका दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाल मल्टिमिडिया प्रालिले निर्माण गरेका ‘औँला काटी रगतले…’ र ‘तिमीले मलाई ढाँटी गयौ…’ बोलका गीतको म्युजिक भिडियो हेटौँडामा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले प्रोजेक्टरमार्फत दुवै म्युजिक भिडियो सार्वजनिक गरिन् । उनले म्युजिक भिडियोले हेटौँडालाई चिनाउन योगदान पुर्‍याएको बताइन् । स्थानीय कलाकार, सर्जक र प्राविधिकको सहभागितामा निर्माण भएका यस्ता सिर्जनाले हेटौँडाको पहिचानलाई सांगीतिक तथा सांस्कृतिक क्षेत्रबाट समेत स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै कला र सिर्जनाको माध्यमबाट हेटौँडाको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।

‘औँला काटी रगतले…’ बोलको गीतमा विष्णुबहादुर सिंहको शब्द र किरण कँडेलको एरेन्ज रहेको छ । प्रज्ञा साउण्ड एचडी काठमाडौंमा रेकर्ड गरिएको गीतको मिक्सिङ शम्भु तण्डुकारले गरेका हुन् । उज्ज्वल शर्मा भण्डारीको निर्देशन रहेको भिडियोमा देवराज पन्त, शान्ति लामा, विजयकृष्ण श्रेष्ठ, डिबी बर्तौला र सुवास सजलले अभिनय गरेका छन् । भिडियोमा डिबी बर्तौला र सुवास सजल अतिथि कलाकारका रूपमा समेत देखिएका छन् । अजय वाइबाले छायाङ्कन गरेको भिडियोको दृश्य सम्पादन हेटौँडाको फिल्म स्टुडियोले गरेको हो ।

त्यसैगरी ‘तिमीले मलाई ढाँटी गयौ…’ बोलको गीतमा होम बिराज सुवेदीको शब्द, कुमार थापाको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ रहेको छ । काठमाडौंस्थित एक्युस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा अजय वाइबाको छायाङ्कन र हेटौँडाको फिल्म स्टुडियोको दृश्य सम्पादन रहेको छ । दुवै भिडियोमा बिनिशा पौडेलले मेकअपको जिम्मेवारी सम्हालेकी छन् ।

कार्यक्रममा निर्देशक उज्ज्वल शर्मा भण्डारीले भिडियो निर्माणको अवधारणा, उद्देश्य र निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए । कार्यक्रममा गीतकार होम बिराज सुवेदी, गायक नारायण लामा लगायतको उपस्थिति थियो ।

नेपाल मल्टिमिडिया प्रालिका निर्देशक सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी तथा साहित्यिक र सांगीतिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा कलाकार तथा भिडियो निर्माणमा योगदान पुर्‍याउने व्यक्ति र संघसंस्थालाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

भिडियो निर्माणमा सहयोग गर्ने रेडियो थाहा सञ्चार, राजदेवी म्युजिक, डि लेक साइट सिम्सार होटल परिवार मार्खुलगायत सहयोगी संस्था तथा व्यक्तिहरूलाई विशेष धन्यवाद दिइएको थियो ।

प्रतिक्रिया