कैलाशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मकवानपुरको कैलाश गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले अभियानको सुरुवात गरेका हुन् ।
ब्याच लगाई तथा सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर अभियान सुरु गरिएको हो । नोभेम्बर २५ देखि विभिन्न कार्यक्रम गर्दै १६ दिने अभियान सफलतापूर्वक सम्पन्न गरिने जनाइएको छ ।
महिला, बालबालिका तथा अन्य कुनै पनि व्यक्तिमाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा यौनजन्य हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक छ । हिंसा सहेर बस्ने होइन, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्नुपर्छ, अध्यक्ष मुक्तानले भने ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल १६ दिनमा सीमित नभई वर्षभरि नै हिंसा अन्त्यका लागि सचेतना, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्वको अभियान बन्नुपर्ने बताउँदै उनले घर, परिवार, समाज तथा सार्वजनिक क्षेत्रमा लैङ्गिक समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले हिंसामुक्त समाज निर्माणका लागि महिला तथा पुरुष, युवा, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताए । हिंसापीडितलाई न्याय, संरक्षण र सहयोग उपलब्ध गराउँदै हिंसा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नु आजको समाजको साझा दायित्व भएको बताइन् । महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, दुर्व्यवहार र असमान व्यवहारको अन्त्यका लागि कानुनी सचेतनासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको उनले बताइन् ।

लैङ्गिक हिंसा घरभित्र, कार्यस्थल, सार्वजनिक स्थान तथा विभिन्न सामाजिक क्षेत्रमा हुन सक्ने भएकाले यसको रोकथामका लागि परिवारदेखि समुदाय र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् ।
ब्याच लगाई तथा सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर अभियान सुरु गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताइन् । ‘म हिंसा गर्दिनँ, हिंसा सहदिनँ र यसको प्रतिकार गर्छु’ भन्ने मूल मर्मका साथ सन् २०२६ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको उनले बताइन् ।


