पार्टीको झण्डा बोकेर व्यक्तिगत स्वार्थको राजनीति चल्दैन : नवीन सिग्देल

पालिका डायरी
८ मंसिर २०८३, २०:०५
खेलकुद विकासमा वडा अध्यक्ष सिग्देलको जोड

हेटौँडा /    दलीय राजनीतिक व्यवस्थामा कुनै व्यक्ति पार्टीभन्दा माथि हुन नसक्ने भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले संस्थागत विचार, नीति, सिद्धान्त र सामूहिक कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सिग्देलले दलीय व्यवस्थामा उम्मेदवारको राजनीतिक पहिचान पार्टीको विचार, सिद्धान्त, झण्डा र चुनाव चिह्नसँग जोडिने उल्लेख गर्दै निर्वाचित भएपछि पनि जनप्रतिनिधिले पार्टीको घोषणापत्र र जनतासामु गरेका प्रतिबद्धताअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखेका छन्।

उनका अनुसार निर्वाचनमा उम्मेदवारहरू व्यक्तिगत रूपमा मात्रै जनतामाझ पुग्दैनन्, उनीहरू एउटा राजनीतिक दलको प्रतिनिधिका रूपमा प्रस्तुत हुन्छन्। पार्टीको घोषणापत्र, नीति र सिद्धान्तका आधारमा जनतासँग मत माग्ने भएकाले निर्वाचित भएपछि त्यसको कार्यान्वयन गर्नु उनीहरूको राजनीतिक तथा नैतिक दायित्व हो।

सिग्देलले व्यक्तिको लोकप्रियता वा व्यक्तिगत पहिचानभन्दा संस्थाको विचार र उद्देश्य महत्त्वपूर्ण हुने तर्क गर्दै जनप्रतिनिधिको काम, व्यवहार र कार्यसम्पादनबाट सम्बन्धित राजनीतिक दलको मूल्याङ्कन हुने बताएका छन्।

उनले विकास कुनै एक व्यक्ति वा दलको निजी विषय नभई साझा सरोकारको विषय भएको पनि उल्लेख गरेका छन्। जनताका आवश्यकता र अपेक्षा पूरा गर्न सबै जनप्रतिनिधि जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ। ‘जनताको हित र सेवाभन्दा माथि कुनै व्यक्तिगत स्वार्थ हुन सक्दैन,’ सिग्देलको धारणा छ।

आफूहरू नेकपा एमालेको राजनीतिक विचार र संस्थागत पहिचान बोकेर जनताको सेवामा समर्पित रहेको उल्लेख गर्दै उनले पार्टीको पहिचान भाषण र नाराबाट मात्र नभई व्यवहार, कार्यशैली र जनताप्रतिको जिम्मेवारीबाट स्थापित हुनुपर्ने बताएका छन्।
सिग्देलको यो अभिव्यक्तिले दलीय राजनीतिमा व्यक्तिगत महत्त्वाकाङ्क्षा र संस्थागत जिम्मेवारीबीचको सम्बन्धलाई बहसमा ल्याएको छ। पार्टीको नाम, झण्डा र चुनाव चिह्न लिएर जनतामाझ जाने जनप्रतिनिधिले आफ्नो कार्यसम्पादनमार्फत पार्टीको नीति तथा प्रतिबद्धता पुष्टि गर्नुपर्ने उनको जोड छ।

प्रतिक्रिया