जाडो छल्न चेपाङ परिवारलाई राहत

पालिका डायरी
८ मंसिर २०८३, २०:१३

मकवानपुरको मनहरी गाउँपालिका–६ पोलोघारीकी बुद्धिमाया प्रजालाई हिउँद सुरु भएसँगै जाडो कसरी कटाउने भन्ने चिन्ता थियो। आर्थिक अवस्था कमजोर हुँदा जाडो छल्न आवश्यक न्यानो कपडा र घरायसी सामग्री जुटाउनसमेत उनलाई कठिन थियो। अँगेनोमा दाउरा बालेर रात बिताउँदै आएकी बुद्धिमायाका लागि यसपटक भने जाडो केही सहज हुने भएको छ । डसना, कम्बल र भाँडाकुँडा पाएपछि उनी खुसी छिन्।

बुद्धिमायाजस्तै दैनिक गुजारा चलाउनसमेत संघर्ष गरिरहेका चेपाङ समुदायका परिवारलाई लक्षित गरी मकवानपुरको मनहरीमा राहत सामग्री वितरण गरिएको छ। चिसो मौसममा विपन्न तथा सीमान्तकृत समुदायका परिवारले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै उनीहरूलाई आवश्यक सामग्री उपलब्ध गराइएको हो।

राहत पाएपछि स्थानीय राममाया प्रजा पनि खुसी छिन्। आर्थिक अभावका कारण जाडो छल्ने सामग्रीको जोहो गर्न नसकिरहेका परिवारका लागि यस्तो सहयोगले केही सहजता थपेको उनी बताउँछिन्। ग्रामीण भेगमा बसोबास गर्ने चेपाङ समुदायका धेरै परिवार अझै पनि सामान्य घरायसी आवश्यकताबाट वञ्चित छन्। दैनिक ज्यालामजदुरी र मजदुरीबाट हुने आम्दानीले परिवारको छाक टार्नै मुस्किल हुने उनीहरूलाई हिउँदको चिसो थप चुनौती बनेर आउने गरेको छ। यस्तो अवस्थामा लक्षित समुदायसम्मै पुगेर गरिएको राहत वितरणले उनीहरूलाई जाडो छल्न सहयोग पुगेको राममायाको भनाइ छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पहलमा काठमाडौँ उपत्यकाका सहयोगी दाताहरुले मनहरीका चेपाङ परिवारलाई न्यानो कपडादेखि भाडाकुडाहरु सहयोग गरेका हुन्। माडवाडी सेवा समिति काठमाडौँ, श्री पशुपती गौशाला धर्मशाला काठमाडौँ, माडवाडी महिला मञ्च काठमाडौँ र आफ्नो घर आश्रम नेपाल, भक्तपुरले सहयोग सामाग्रीहरु उपलब्ध गराएको हो।

आफ्नो घर आश्रमका विजय अग्रवाल चौधरीले सहयोग सामाग्री वितरण गर्दै आफूहरुले कमाएको केही प्रतिशत सामाजिक काममा खर्चदैँ आइएको बताए। केही दिन अघि मुख्यमन्त्री किरण थापामगरले मनहरीका चेपाङ परिवारको घरमा ओछ्यान नभएको, पकाएर खाने भाडा नभएको तथा न्यानो कपडा नभएको पीडा सुनाएको बताउँदै उनले भने, ‘मुख्यमन्त्री ज्युको कुरा सुनेपछि हामी सहयोग सामाग्री लिएर मनहरी आइपुग्यौँ। यस्ता धेरै ठाउँहरुमा हामीले सहयोग सामाग्रीहरु उपलब्ध गराउँदै आइरहेका छौँ।’
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री थापामगरले केही दिन अघि घर वितरण कार्यक्रममा आउँदा त्यहाँका चेपाङ समुदायको दुख देखेर फर्किएको बताए। सोही कारण दाता मार्फत सहयोग उपलब्ध गराइएको उनले बताए। प्रदेश सरकारले १ हजार परिवारको घर निर्माण गर्ने गरी बजेट विनियोजन भएको बताउँदै मुख्यमन्त्री थापामगरले भने, ‘आवश्यकताको आधारमा तँपाईहरुलाई ४ लाख रुपैँया बराबरको घर निर्माण प्रदेश सरकारले गरिदिन्छ । आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम र तालिमहरु पनि सञ्चालन गर्छौँ।’

पोलोघारीका ३५ चेपाङ परिवारलाई कार्यक्रममा स्थानीय चेपाङ परिवारलाई डेक्ची, कराई, प्रेसर कुकर, डाडु–पन्यु, बाल्टी, पानी खाने मग, थाल, गिलास, ग्यास, खटिया, सिरक–डस्ना, कम्बल, झुल, ज्याकेट, टोपी तथा अन्य कपडाहरू हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया