कैलाशमा स्वास्थ्य ईन्चार्जहरुलाई पाम्स भी २ तालिम प्रदान

पालिका डायरी
११ मंसिर २०८३, १४:३३

मकवानपुरको कैलाश गाउँपालिकाका वडामा कार्यरत स्वास्थ्य ईन्चार्जहरुलाई पाम्स भी २ तालिम प्रदान गरिएको छ ।

दुई दिन सञ्चालित तालिम शुत्रबार समापन भएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा तालिमको समापन भएको हो । तालिमको समापन गर्दै अध्यक्ष मुक्तानले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन पाम्स प्रणालीको महत्वपूर्ण भूमिका रहने बताए । औषधि तथा स्वास्थ्य सामग्रीको खरिद, प्राप्ति, मौज्दात र वितरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न यो प्रणाली उपयोगी हुने गरेको उनले बताए ।

तालिममा सहभागी स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रविधिको प्रयोग केवल औपचारिकतामा सीमित नराखी दैनिक कार्यसम्पादनको अभिन्न हिस्सा बनाउन अध्यक्ष मुक्तानले अनुरोध गरेका छन् ।

उनले गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाले पाम्स भी २ प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनुका साथै औषधि तथा स्वास्थ्य सामग्रीको प्राप्ति, मौज्दात र वितरणको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले औषधिको अभाव हुन नदिन समयमै माग गरि औषधिको म्याद, गुणस्तर र भण्डारणमा विशेष ध्यान दिनुपर्ने बताए ।

पाम्स भी २ नेपाल सरकारको सार्वजनिक सम्पती व्यवस्थापन प्रणाली हो । स्वास्थ्य क्षेत्रमा यसको प्रयोग औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापनका लागि प्रणाली प्रयोग गरिने स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।

तालिमलाई जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत प्रिन्शु दाहालले सहजीकरण गरेकी थिईन् । तालिममा पालिकाका १० वटै वडाका स्वास्थ्य ईन्चार्जहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया