अनुभवी कर्मचारीको ज्ञान र सीप सामाजिक सेवामा लगाउन वडा अध्यक्ष सिग्देलको आग्रह
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले अनुभवी कर्मचारीको ज्ञान, सीप र अनुभवलाई सामाजिक सेवामा उपयोग गर्न आग्रह गरेका छन्।
हेटौंडा–४ मा कार्यरत वरिष्ठ सहायक कृष्णबहादुर पोख्रेलले ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश प्राप्त गरेपछि आयोजित बिदाइ कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिग्देलले यस्तो आग्रह गरेका हुन्।
स्थानीय तहका विभिन्न क्षेत्रमा रहेर लामो समय काम गरेको अनुभव भएका व्यक्तिहरू समाजका लागि पनि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष सिग्देलले अवकाशपछि पनि सामाजिक कार्यमा सक्रिय रहनुपर्ने बताए।
उनले कर्मचारीलाई वरिष्ठताका आधारमा मात्रै नभई अनुभव, कार्यदक्षता र व्यावहारिक ज्ञानका आधारमा पनि महत्त्व दिनुपर्ने धारणा राखे। अनुभवी व्यक्तिहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्दा कार्यसम्पादन प्रभावकारी हुने र सेवा प्रवाहमा समेत सकारात्मक परिणाम आउने उनको भनाइ थियो।
सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि व्यक्तिले आफ्नो ज्ञान र अनुभवलाई समाजको हितमा प्रयोग गर्न सक्ने बताउँदै अध्यक्ष सिग्देलले सामाजिक विकास र जनताको सेवामा योगदान पुर्याउन आग्रह गरे।
लामो समय स्थानीय तहको सेवामा रहेर जिम्मेवारी निर्वाह गरेका वरिष्ठ सहायक पोख्रेलको योगदानको कदर गर्दै आयोजित कार्यक्रममा वडा सचिव रामप्रसाद गुरागाईंसहित वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।


