चियापानमा खर्चिने रकमबाट असहाय ज्येष्ठ नागरिकलाई ह्वीलचेयर

पालिका डायरी
२८ आश्विन २०८३, ०७:०८

चाडपर्वमा औपचारिक चियापान र शुभकामना आदानप्रदानमा खर्च गर्ने परम्परालाई छाड्दै नेकपा एमाले हेटौंडा–१३ वडा कमिटीले ९८ वर्षीया भक्तकुमारी ढुंगानालाई ह्वीलचेयर सहयोग गरेको छ।

दशैँ, तिहार तथा छठ पर्वको अवसरमा मंगलबार गरिएको यो सहयोगले सामाजिक सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ।
वडा कमिटीका सदस्यहरूबाट रकम संकलन गरी करिब ९ हजार रुपैयाँ बराबरको ह्वीलचेयर ढुंगानालाई प्रदान गरिएको हो।

औपचारिक कार्यक्रमभन्दा आवश्यकतामा परेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले ह्वीलचेयर वितरण गरिएको एमाले नगर कमिटी सदस्य तथा वडा इन्चार्ज आशिष थापाले बताए।

नेकपा एमाले हेटौंडा–१३ वडा कमिटीका अध्यक्ष विष्णु रिमालको सभाध्यक्षता तथा एमाले जिल्ला उपसचिव एवं हेटौंडा–१० का वडाध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लामाले दुःखी, असहाय तथा आवश्यकतामा परेका नागरिकको साथमा एमाले सधैँ उभिने बताए। उनले ज्येष्ठ नागरिकलाई सम्मान, युवालाई साथ र बालबालिकालाई माया गर्दै दुःख–सुखमा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा एमाले जिल्ला सदस्य कृष्ण खतिवडा, नगर सचिव शान्त गौतम, नगर उपसचिव सन्तकुमार लामालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया