भीमफेदीका सविन दसैँमा घर आउँछु भनेका थिए कहिल्यै नफर्कने गरी अस्ताए

पालिका डायरी
१६ भाद्र २०८३, ११:५१

गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपछि धेरै परिवारको दिनचर्या फेरिएको छ।

आफन्तको फोन आउला कि? कुनै खबर सुनिएला कि? भन्ने आशामा बसेका परिवार अहिले शव राखिएका अस्पताल र चिस्यान केन्द्रसम्म पुगिरहेका छन्। बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा भेटिएका धेरै शवको अनुहार र शरीरको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ।

आफन्तहरू एउटा-एउटा शवको तस्बिर नियाल्छन्, शरीरमा भएका कुनै चिनो खोज्छन् र आफ्ना मान्छेको कुनै संकेत भेटिन्छ कि भनेर आशा गर्छन्। यही पीडादायी खोजीका क्रममा मकवानपुरको भीमफेदी गाउँपालिका-२, तिलटारका २८ वर्षीया सविन रानामगरको शव भेटिएको छ।

नवलपरासीको बर्दघाट सुस्तापूर्वमा भेटिएको शव राखिएको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासीमा सविनको शव पहिचान भएको हो। आज (सोमबार) बिहान परिवारले उनको शव पहिचान गरेको बताइएको छ।

हातमा रहेको ट्याटुले सविनको पहिचान गरिएको भीमफेदी गाउँपालिका-२ का वडाध्यक्ष काशीराम बज्युले जानकारी दिए। शरीरको अनुहारले पहिचान दिन नसकेको अवस्थामा हातमा कोरिएको त्यही ट्याटुले शवको पहिचान भएको उनको भनाइ छ।

सविन रसुवाको हाइड्रोपावरमा विगत ४ वर्षदेखि सवारी चालकको रूपमा कार्यरत थिए। उनकी ठुलीआमा नानीमाया रानाले दिएको जानकारी अनुसार सविन ७ गते आइतबारमात्रै रसुवा फर्किएका थिए। एक महिनाको लागि बिदा मिलाएर घर आएका उनी ६/७ मात्रै घर बसेर आइतबार (भदौ ७ गते) घरबाट काठमाडौँ हिँडेका थिए।

‘घर आउँदा एक महिनाको लागि बिदा लिएर आएको भन्थ्यो। ५/६ दिन हुने बित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,’ उनले नेपालखबरसँग भनिन्, ‘आइतबार गएर काठमाडौँ बसेको रैछ। मंगलबार मात्रै रसुवा पुगेको थियो रे। त्यही बाढी आउने दिनबाट ड्युटी सुरु भएको थियो रे। एकैछिनमा सबै सकियो।’

नानीमायाका अनुसार बुधबार बिहान ६ बजेतिर सविनले आफ्नी श्रीमती रविना ठाडामगरसँग फोनमा कुरा गरेका थिए। काम सुरु भएको बताउँदै उनले भरे कुरा गरौँला भनेर फोन राखेर काममा लागेका थिए।

यता रविना छोरीलाई स्कुल पठाउने तयारीमा थिइन्। बिहानको व्यस्तताले मोबाइल हेर्ने फुर्सद थिएन। रसुवामा बाढी आएको खबर थाहा पाएलगत्तै उनले हतारिँदै सविनलाई फोन गरिन्। तर, फोन उठेन। पटक-पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।

घरको जेठो छोरो बाढीपछि सम्पर्कविहीन हुँदा सविनकी आमा सबिता रानामगरले हारगुहार गरिन्। अब दसैँमा घर आउँछु भनेर काममा फर्किएका सविन कहिल्यै नफर्कने गरी हराएपछि यतिबेला सिंगो गाउँ नै शोकमा डुबेको छ।

आफन्तसहितको टोली दुईदिनसम्म सम्पर्कमा आउने आसमा बसे। तर केही खबर प्राप्त नभएपछि खोजीका लागि चार दिनदेखि परिवार भौँतारियो। अन्ततः हातमा देव्रे हातमा रहेको ट्याटुले परिवारले शव पहिचान गरेका हुन्। भीमफेदी गाउँपालिका-२ की वडासदस्य विष्णुमाया रानामगरको अनुुसार उनको शव आजै देवघाटमा अन्तिमसंस्कार गरेर आउन लागिएको जानकारी दिइन्।

उनका अनुसार सविनका बुबा विगत १४-१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन्।

प्रतिक्रिया