राप्तीखोलामा ७० वर्षीय रुम्बा मृत फेला
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्तीखोलामा एक वृद्धको शव फेला परेको छ।
आज बिहान करिब ७:१० बजे राप्तीखोलाले एक जना मानिसलाई बगाएर तलतर्फ लैजाँदै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो।
प्रहरीले खोजी गर्ने क्रममा मनहरी गाउँपालिका–४ मसिने निवासी अन्दाजी ७० वर्षीय बल बहादुर रुम्बाको शव हेटौंडा–१९ बस्तिपुरको पुलबाट करिब ५०० मिटर तल राप्तीखोलाको बीच भागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा फेला पारेको हो।
घटनापछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमा शंकर प्रसादको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो। आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


