भीमफेदीको गाउँपालिकाद्वारा भोटेकोसी बाढी प्रभावित पाँच पालिकालाई एक-एक लाख सहयोग
हेटौँडा / प्राकृतिक विपद्को पीडामा परेका स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यले भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित पाँचवटा स्थानीय तहलाई १ लाख रुपैयाँका दरले ५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले कुल ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै अन्तरपालिका सहयोग, सहकार्य र ऐक्यबद्धताको उदाहरणीय सन्देश दिएको छ। गाउँपालिकाका अनुसार उक्त सहयोग रकम जनप्रतिनिधिहरूको पारिश्रमिक, कर्मचारीहरूको स्वेच्छिक योगदान तथा गाउँपालिकाको आन्तरिक विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिएको हो। सहयोग रकम कुनै मध्यस्थता नगरी सम्बन्धित बाढी प्रभावित स्थानीय तहको विपद् कोषमा सिधै पठाइने जनाइएको छ।
यसैबीच, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले देशभर रहेका ७५३ वटै स्थानीय तहलाई विपद्का बेला एकअर्काको सहयोगी बन्न सार्वजनिक अपिल गरेका छन्। अध्यक्ष लामाले प्रभावित क्षेत्रका नागरिकसम्म सहयोग प्रभावकारी र छिटो पुर्याउन कुनै मध्यस्थता नगरी सिधै सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा सहयोग रकम पठाउन सबै स्थानीय तहसँग आग्रह गरेका हुन्।
स्थानीय स्रोत र साधनको परिचालनमार्फत एक पालिकाले अर्को पालिकाको दुःखमा साथ दिन सक्ने सन्देश भीमफेदी गाउँपालिकाले दिएको भन्दै यस कार्यलाई सकारात्मक रूपमा हेरिएको छ। ‘जहाँको दुःख, त्यहीँको सहयोग र सहकार्य-विपद्को समयमा स्थानीय तहबीचको ऐक्यबद्धता नै सबैभन्दा ठूलो शक्ति हो’ भन्ने सन्देशसहित अध्यक्ष लामाले देशभरका स्थानीय तहलाई बाढी तथा अन्य विपद्बाट प्रभावित पालिकाको साथमा उभिन आग्रह गरेका हुन्।


