बालेनलाई प्रचण्डको प्रश्न- कसैको अनुहार हेर्नुनपर्ने यो के तरिका हो ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको भन्दै टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढीका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गरे। यस्तो बेला सरकारको नेतृत्व संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।,
‘सरकारको मुख्य नेतृत्व संवदेनशील र जिम्मेवार हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो। म वहाँलाई यसअर्थमा त धन्यवाद नै भन्न चाहन्छु,’ प्रचण्डले थपे, ‘तर, वहाँले अरुलाई पनि विश्वासमा लिनुपर्छ। अरुका अनुभव पनि महत्त्वपूर्ण हुनसक्छ भन्नेतिर ध्यान दिए जस्तो लागेन।’
प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन नसकेको प्रचण्डको जिकिर थियो। ‘संसद्लाई विश्वास लिनु भनेको खाली प्रतिपक्षका सांसदलाई मात्रै होइन। कार्यशैलीले के देखाउछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहेनत गरेको मैले चाहीँ देखिनँ,’ प्रचण्डले भने।
प्रधानमन्त्री शाह संसदलाई सम्बोधन गरेपछि बाहिर निस्किएका थिए। उनले कसैको सम्बोधन सुनन्। त्यस्तै, कुनै पनि दलका सांसदसँग सामान्य संवाद पनि गरेनन्। त्यसलाई लिएर प्रचण्डले प्रश्न गरेका हुन्। ‘वहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यो के तरिका हो?,’ प्रचण्डले भने, ‘यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि।’
विपद्को बेलामा सबै दल प्रधानमन्त्री शाहलाई सहयोग गर्न तयार भए पनि उनी आफै एक्लै हिड्न खोजिरहेको प्रचण्डको भनाइ थियो। ‘कसैको पनि अनुहार हेर्नु नपर्ने के हो, त्यो तरिका?,’ प्रचण्डले भने, ‘यो तरिकाले हुँदैन।’


