तीज मनाउन कम्पनीले दिएको रकम बाढीमा बितेका सुमनको परिवारलाई हस्तान्तरण
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटे भोर्लेमा रहेको रिद्धि सिद्धि सिमेन्ट लिमिटेडमा कार्यरत महिला कर्मचारीहरूले यस वर्ष तीज मनाउने रकम विपद्मा ज्यान गुमाएका परिवारलाई सहयोग गरेका छन्। कम्पनीले हरितालिका तीज मनाउन महिला कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको १५ हजार रुपैयाँ यसपटक तीजमा खर्च नगरी हालै भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका त्रिशूली हाइड्रोपावरमा कार्यरत हेटौंडा–१५ निवासी सुमन गोलेको परिवारलाई हस्तान्तरण गरिएको हो।
बाढीले परिवारमा ठूलो पीडा थपिएका बेला आफूहरूले तीजका लागि पाएको रकम पनि पीडित परिवारको सहयोगमा प्रयोग गर्ने निर्णय गरेको रिद्धि सिद्धि सिमेन्टमा कार्यरत महिला कर्मचारी निर्मला घलानले बताइन्। उनका अनुसार तीज मनाउने रकमबाट केही समयका लागि भए पनि गोले परिवारको दुःखमा साथ दिने उद्देश्यले सहयोग गरिएको हो।
“तीज मनाउन कम्पनीले दिएको १५ हजार रुपैयाँ यसपटक हामीले तीजमा खर्च नगर्ने निर्णय गर्यौँ। भोटेकोशीको बाढीमा सुमन गोलेले ज्यान गुमाउनुभएको खबरले हामीलाई पनि दुःखी बनायो,” घलानले भनिन्, “त्यसैले तीज मनाउने रकम उहाँको परिवारलाई सहयोग गर्ने निर्णय गरेका हौँ। हाम्रो सानो सहयोगले उहाँहरूको पीडामा केही राहत मिलोस् भन्ने चाहना हो।”
गोले त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। हालै भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी उनले ज्यान गुमाएका थिए। बाढीमा स्थानीयस्तरमै क्षति पुगेपछि गोलेको परिवारसमेत शोकमा छ। तीज नेपाली महिलाहरूको महत्वपूर्ण पर्व भए पनि यसपटक आफ्नै समुदायमा विपद्का कारण परिवार गुमाएका व्यक्तिको दुःखमा सहभागी हुँदै महिला कर्मचारीहरूले पर्वका लागि छुट्याइएको रकम सहयोगमा लगाउने निर्णय गरेका हुन्।


