संसद्मा आङदेम्बेको प्रश्न- सुरुङभित्र भएको मृत्यु हो कि हत्या?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भदौ १० को भोटेकोसी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले खोज तथा उद्धारमा भएको ढिलाईका कारण सुरुङभित्र भएको मृत्युको विषयमा सरकारले जिम्मा लिनुपर्ने बताए।
उनले कांग्रेस सरकारको साथमा रहेको बताए। ‘विपदमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन हामी भनेर सामना गर्नुपर्छ। हामी सरकारको साथमा छौं,’ उनले भने। तर, सुरुङभित्रका मानिसको उद्धारमा भएको ढिलाइमा प्रश्न गरेका छन्। सुरुङभित्र ज्यान गुमाएको नभएर ‘हत्या’ भएको उनको टिप्पणी छ।
‘सुरुङभित्र फसेका मानिसको उद्धारमा आयोजना र निजी क्षेत्रलाई जान नदिने, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफु एक्सन नगर्ने, अरुलाई गर्न नदिने अनि सात दिन वितिसकेपछि हात उठाएर सरकारले भन्ने- सुरुङमा आफै खोज। यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो?,’ आङदेम्बेको प्रश्न छ, ‘यो असंवेदनशीलता त ढिलाईका कारण ति सुरुङभित्र भएको मृत्यु- मृत्यु हो कि हत्या सभामुख महोदय? बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुक्यो । यसको जिम्मा सरकारले लिनुपर्छ।’
यो ‘प्रचार होइन प्राण बचाउने समय हो’ भन्दै आङदेम्बेले नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय भन्दा आफैभित्र समीक्षाको विषय बनाउन सरकार र सत्तासीनलाई सुझाव दिए। ‘सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सुरुदेखि नै सरकारी, निजी, अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित नभएर सरकारले थप क्षतिको जोखिममा थकेल्ने काम गरेको उनले बताए।
‘सम्बन्धित क्षेत्रका विज्ञहरूले भनेका थिए- सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई गोल्डेन आवर मानिन्छ। यसबीच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ। तर, निजि र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षतिको जोखिममा थकेल्ने काम भयो,’ उनले भने।
आफ्नो परिवारको सदस्य जीवित छन् कि छैनन् भन्ने अनिश्चिततामा बस्नु आफैंमा ठूलो यातना भएको उनको भनाइ छ। ‘बाढीमा हराएका नागरिकको परिवारका लागि समय कति पीडादायी हुन्छ भन्ने हामी कल्पना गर्न सक्छौँ। आफ्नो परिवारको सदस्य जीवित छन् कि छैनन् भन्ने अनिश्चिततामा बस्नु आफैंमा ठूलो यातना हो,’ उनले भने।
कांग्रेसले सुरुवातदेखि नै विपदमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन हामी भनेर सामना गर्नुपर्छ भन्दा पनि सरकारले समन्वय नगरेको उनको आरोप छ।


