हेटौंडामा इभी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

पालिका डायरी
१७ भाद्र २०८३, ११:३२

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बुद्ध पार्क अगाडि महेन्द्र राजमार्गमा इभी गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार १६ गते राति करिब ९ः५० बजे नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको इभी गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–३२ निवासी अन्दाजी ५० वर्षीय बिरेन्द्र पासवान गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए।

घाइते पासवानको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि उनलाई वयोधा अस्पताल, वीरगन्ज, पर्सा रिफर गरिएको थियो। उपचारकै क्रममा उनको सोही राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

ठक्कर दिने इभी गाडीका चालक राक्सिराङ गाउँपालिका–७ निवासी अन्दाजी ३३ वर्षीय बुद्धिलाल थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया