पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडा-काठमाडौँ आउजाउका लागि यी हुन् चार विकल्प
नारायणगढ-काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएपछि हेटौँडा-काठमाडौँ आउजाउका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायतका स्थानमा त्रिशूली नदीले कटान गरेर पहिरो गएपछि नारायणगढ–काठमाडौँको सडक सञ्जाल टुटेको छ। चितवन जिल्ला प्रशासनले नारायणगढ हुँदै काठमाडौँं जाने सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
यस्तो अवस्थामा नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ आउजाउ गर्ने सवारीहरूको लागि हेटौँडा हुँदै जाने विभिन्न सडक सञ्जालका विकल्प छन्। नारायणगढतर्फको मुख्य सडक बन्द भएपछि हेटौँडाबाट हेटौँडा जान त्रिभुवन राजपथ, कान्तिलोकपथ तथा कुलेखानी हुँदै काठमाडौँ जोडिने छोटो दूरीका मार्ग विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ।
१. त्रिभुवन राजपथ
हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्नका लागि लाइफलाइन सडक हो, त्रिभुवन राजपथ। नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएपछि हेटौँडाबाट काठमाडौँ जाने १४ सिटभन्दा माथिका सवारीसाधनलाई त्रिभुवन राजपथ प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय, मकवानपुरले निर्देशन दिएको छ।
प्रशासनको निर्देशनअनुसार १४ सिटभन्दा माथिका सवारीसाधनले हेटौँडा–भैँसे–पालुङ–नौबीसे हुँदै काठमाडौँ जाने त्रिभुवन राजपथ प्रयोग गर्नुपर्ने छ। हेटौँडा र काठमाडौँ जोड्ने त्रिभुवन राजपथ पुरानो सडकमार्ग हो। हरेक वर्ष वर्षायाममा अन्य प्रमुख सडकखण्ड बाढी, पहिरो तथा विभिन्न कारणले अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ आवागमनका लागि यही मार्ग महत्त्वपूर्ण वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको छ।
हेटौँडाबाट पालुङ ६९ किलोमिटरको दूरी छ। त्यहाँबाट काठमाडौँ पुग्न ५४ किलोमिटर गरी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ पुग्न १२१ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ।
२. हेटौँडा–फाखेल–काठमाडौँ
हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौँ पुग्ने मार्ग प्रयोग गर्न सकिन्छ। त्यसका लागि हेटौँडा–भीमफेदी–कुलेखानीसम्म पुगेपछि माथिल्लो बाटोतर्फ लाग्नुपर्ने हुन्छ।
यहाँ पुगेपछिको अर्को विकल्प हो, सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक। फाखेल हुँदै जान रुचाउनेका लागि कुलेखानीबाट इन्द्रसरोबर गाउँपालिका–२ कलंकी हुँदै फाखेल तर्फ लाग्न सकिन्छ। यस सडक हुँदै काठमाडौँ पुग्न ८० किलोमिटर दूरीको यात्रा गर्नुपर्ने हुन्छ।
३. हेटौँडा-सिस्नेरी-काठमाडौँ
कुलेखानी पुगेपछि सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ जान चाहनेका लागि इन्द्रसरोवर गाउँपालिका–३, टेकर हुँदै सिस्नेरीतर्फ लाग्नुपर्ने हुन्छ।
हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख छोटो दूरीको वैकल्पिक मार्ग यो पनि हो। यी मार्गहरू विगतमा नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग हुँदै आएका छन्। यो सडक फाखेल हुँदै जाँदा भन्दा करिब ५ किलोमिटर बढी दूरी पर्छ। यस सडक हुँदै हेटौँडा–काठमाडौँको यात्रा गर्दा ८५ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ।
४. कान्ति लोकपथ
त्यसो त, कान्ति लोकपथ हुँदै हेटौँडाबाट ललितपुरतर्फ गएर काठमाडौँ प्रवेश गर्ने विकल्प समेत रहेको छ। हेटौँडाबाट ८६ किलोमिटरको दूरी पार गरेपछि ललितपुरको चापागाउँ हुँदै सातदोबाटो निस्कन सकिन्छ।
आज (सोमबार) दिउँसोसम्मको अपडेटमा कान्ति लोकपथ सडक सुचारु नै छ। तर बर्खायामको समय भएकोले पहिरो र सडकको वर्तमान अवस्थाका कान्ति लोकपथ सडक प्रयोग गर्नुअघि सम्बन्धित सुरक्षा निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ।
कान्ति लोकपथमा ललितपुर खण्डमा पर्ने भट्टेडाँडा लगायतका क्षेत्रहरूमा पहिरोको जोखिम रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका ट्राफिक प्रमुख रमेश विष्टले बताए। ‘अहिले अवस्थामा कान्ति लोकपथ पनि सञ्चालनमै छ। पानी पर्न सुरु भएको कारण जोखिम भने कायमै छ,’ उनले भने, ‘अहिलेको अवस्थामा कान्ति लोकपथसहित हेटौँडा हुँदै आउजाउ गर्ने सडकहरूमा समस्या छैन।’
ट्राफिक प्रमुख विष्टका अनुसार नारायणगढ सडक बन्द हुँदा मकवानपुरमा सवारीको चाप बढेको छ। जसकारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको उनको भनाइ छ।


