हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग खोल्न भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडको स्थलगत अवलोकन

राम कुमार दानी
१६ भाद्र २०८३, ०८:५०

हेटौंडा /  हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने गरी काम अघि बढाउन पहल सुरु भएको छ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव, पूर्वाधार निर्देशनालयका निर्देशक तथा पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुखसहित भीमफेदी गाउँपालिका–४ का वडाध्यक्ष सागर पाण्डेलगायतको टोलीले आज इपा–देउराली–कोगटे क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

हालको अवस्थामा हेटौंडा–काठमाडौं जोड्ने मुख्य सडकमा अवरोध वा यातायात सञ्चालनमा समस्या आएमा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने यो सडकलाई तत्काल सुधार गरी सञ्चालनमा ल्याउनुपर्नेमा टोलीले जोड दिएको छ।

स्थलगत निरीक्षणका क्रममा सडकको अवस्था, आवश्यक पूर्वाधार, स्तरोन्नति गर्नुपर्ने क्षेत्र तथा तत्काल यातायात सञ्चालनका लागि गर्नुपर्ने कामबारे सम्बन्धित निकायबीच छलफल भएको छ।

यसै आर्थिक वर्षमा देउराली–ठूलोडोल–कोगटे खोला खण्डसहित सडकका अन्य आवश्यक भागमा बहुवर्षीय ठेक्कामार्फत करिब ३२ करोड रुपैयाँसम्मको लागतमा काम अघि बढाउने तयारी रहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएका छन्।

यसबाट सडकको दीर्घकालीन स्तरोन्नतिसँगै हेटौंडा–काठमाडौंबीचको वैकल्पिक यातायात मार्ग थप सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको अध्यक्ष लामाको भनाइ छ।

मुख्य सडकमा प्राकृतिक विपद्, पहिरो वा अन्य कारणले यातायात अवरुद्ध हुने अवस्थामा छोटो समयमै वैकल्पिक मार्ग सञ्चालन गर्न सकिने गरी सडकलाई तयारी अवस्थामा राख्नु अहिलेको आवश्यकता भएको स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको भनाइ छ।

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकलाई केवल स्थानीय सडकका रूपमा नभई हेटौंडा–काठमाडौं जोड्ने रणनीतिक वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।

प्रतिक्रिया