भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन तुइन निर्माण तीव्र

पालिका डायरी
१५ भाद्र २०८३, १७:२५

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण आसपासका क्षेत्रमा ठूलो मात्रामा हिलो र लेदो जम्दा प्रभावित नागरिकको जनजीवन कष्टकर बनेको छ। कतिपय स्थानमा ५–६ फिटसम्म हिलो र लेदो जमेको कारण आवतजावतमा समस्या हुनुका साथै राहत, स्वास्थ्य सामग्री तथा आपतकालीन उद्धारका कामसमेत प्रभावित भएका छन्।

विषम परिस्थितिमा प्रभावित नागरिकसम्म राहत तथा स्वास्थ्य सामग्री तत्काल पुर्‍याउन र आवतजावतलाई सहज बनाउन बागमती प्रदेश सरकारले त्रिशूली नदीमा तुइन निर्माण तथा सञ्चालनको काम तीव्र बनाएको छ।

बिदुर र त्रिशूलीलाई जोड्ने गरी निर्माण भइरहेको उक्त तुइन सम्भवतः भोलिसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिएका छन्।

तुइन सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, गर्भवती महिला, घाइते तथा अन्य आपतकालीन अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा उद्धार गर्नसमेत यसले महत्वपूर्ण सहयोग पुर्‍याउने प्रदेश सरकारको विश्वास छ।

बाढीपछि सडक तथा पैदलमार्गमा हिलो र लेदो जमेर आवतजावतमा कठिनाइ भइरहेका बेला वैकल्पिक आवतजावतको माध्यमका रूपमा तुइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

प्रदेश सरकारका अनुसार तुइन सञ्चालनसँगै प्रभावित क्षेत्रमा राहत वितरण, स्वास्थ्य सेवा तथा आपतकालीन उद्धारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सेवा र सामग्री उपलब्ध गराउन अन्य सम्भावित वैकल्पिक मार्ग तथा उपायसमेत परिचालन गरिने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया