तीजको दर स्थगित गर्दै अधिकारी वंशज महिला समूहद्वारा ५० हजार ५५५ रुपैयाँ सहयोग
थाहा नगरपालिका–४, किटेनीमा रहेको अधिकारी वंशज महिला समूहले तीजको अवसरमा आयोजना गर्न लागेको दर कार्यक्रम स्थगित गर्दै रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।
देशमा रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भएको र धेरै परिवार विपद्मा परेको अवस्थामा तीजको दर कार्यक्रम गरेर रमाइलो गर्नुभन्दा पीडितको राहत तथा उद्धारमा सहयोग गर्नु उपयुक्त हुने निष्कर्ष निकाल्दै समूहले कार्यक्रम स्थगित गरेको हो।
समूहले दर कार्यक्रमका लागि छुट्याइएको रकम रु. ५० हजार ५ सय ५५ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितको राहतका लागि सहयोग गरेको जनाएको छ। समूहकी सदस्य उमा अधिकारीले विपद्को समयमा उत्सवभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने भएकाले दर कार्यक्रम स्थगित गरिएको बताइन्।
“तीज हाम्रो संस्कार र संस्कृति हो, तर अहिले देशका दाजुभाइ तथा दिदीबहिनीहरू विपद्मा पर्नुभएको छ। यस्तो अवस्थामा रमाइलो गर्नुभन्दा सकेको सहयोग गर्नु हाम्रो कर्तव्य ठानेर कार्यक्रम स्थगित गरेका हौँ,” उनले भनिन्।
त्यस्तै, रेखा अधिकारीले सानो भए पनि पीडित परिवारको राहतमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। “हामीले दर कार्यक्रमका लागि जम्मा गरेको रकमलाई यसपटक विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीका लागि खर्च गर्ने निर्णय गर्यौँ। हाम्रो सानो सहयोगले पनि पीडितलाई केही राहत मिलोस् भन्ने उद्देश्य हो,” उनले भनिन्।
सुनिता अधिकारीले तीजको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताइन्। “तीजमा हामीले हरेक वर्ष रमाइलो गर्दै आएका छौँ। यसपटक भने देशमा परेको विपत्तिलाई ध्यानमा राखेर उत्सव स्थगित गरी राहतमा सहयोग गरेका छौँ। दुःखमा साथ दिनु नै अहिलेको आवश्यकता हो,” उनले बताइन्।
अर्की सदस्य जमुना अधिकारीले विपद्का बेला सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिइन्। “रकम ठूलो वा सानोभन्दा पनि विपद्को समयमा सहयोग गर्ने भावना महत्वपूर्ण हुन्छ। हामीले तीजको खर्च कटाएर पीडितका लागि सहयोग गर्न पाएकोमा सन्तुष्टि लागेको छ,” उनले भनिन्।
अधिकारी वंशज महिला समूहको उक्त निर्णयले तीजको मौलिक संस्कृति जोगाउँदै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई समेत प्राथमिकता दिएको सन्देश दिएको छ।


