हेटौँडा–काठमाडौँ आवागमनमा अब ‘वान वे रुट’ काठमाडौँ जाँदा र फर्किँदा फरक-फरक सडक

पालिका डायरी
१६ भाद्र २०८३, ०९:२१

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ आवागमनका लागि ‘वान वे’ प्रणाली लागू गरेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएको तथा हेटौँडा हुँदै विभिन्न राजमार्ग प्रयोग गर्ने सवारी साधनको चाप बढेपछि प्रशासनले मंगलबार (आज) देखि  लागू हुने गरी ‘वान वे’ प्रणाली लागू गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन अब काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग हुँदै सञ्चालन गर्नुपर्नेछ।

त्यस्तै, कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारी साधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधनका लागि पनि एकतर्फी रुट निर्धारण गरिएको छ।

हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ भने काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्ने स्थानीय प्रशासनले जनाएको छ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारी साधनले बेलिब्रिज प्रयोग गर्न नपाउने भएका छन्।

त्यस्ता सवारी साधनलाई बेलिब्रिजसँगै रहेको डाइभर्सन प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी चालकले आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने वैकल्पिक सडकमा सवारीको चाप बढेको अवस्थामा रुटलाई एकतर्फी बनाएर ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले नयाँ व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया