तरकारी ढुवानी सहज बनाउन व्यवसायीसँग थाहा नगरपालिकाको छलफल

पालिका डायरी
१६ भाद्र २०८३, १९:१२
तरकारी ढुवानी सहज बनाउन व्यवसायीसँग थाहा नगरपालिकाको छलफल

धादिङको कृष्णभीरमा सडक भासिएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको अवस्थामा थाहा नगरपालिकाबाट काठमाडौंसहित देशका विभिन्न बजारमा तरकारी ढुवानी गर्ने सवारीसाधनको आवागमन सहज बनाउने विषयमा व्यवसायीहरूसँग छलफल गरिएको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा समेत सवारीसाधनको चाप बढेको छ। प्रशासनले सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेका बेला थाहा नगरपालिकाले तरकारी व्यवसायी तथा चालकहरूसँग ढुवानी व्यवस्थापनका विषयमा छलफल गरेको हो।

छलफलका क्रममा थाहा नगरबाट तरकारी बोकेर विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न व्यवसायीहरूलाई अनुरोध गरिएको छ। विशेषगरी हेटौंडा, चितवन, पोखरा तथा पूर्वी क्षेत्रतर्फ जाने तरकारी बोकेका सवारीसाधनलाई कुन्छाल–कुलेखानी–भीमफेदी तथा सिमभञ्ज्याङ–गोलमोड–देउराली–भीमफेदी सडकमार्फत आवागमन गर्न आग्रह गरिएको छ।

त्यस्तै, काठमाडौं जाने तरकारी ढुवानीका सवारीसाधनलाई त्रिभुवन राजपथ वा चित्लाङ–चन्द्रागिरी सडक प्रयोग गर्न अनुरोध गरिएको नगरपालिकाले जनाएको छ। दैनिक उपभोग्य वस्तुका रूपमा रहेको तरकारीको आपूर्ति प्रभावित हुन नदिन तथा वैकल्पिक सडकमा बढेको सवारी चापका कारण किसान र व्यवसायीलाई थप समस्या हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी सडक आवागमन सहज बनाउने विषयमा समेत छलफल भएको छ।

नगरपालिकाले काठमाडौंलगायतका बजारतर्फ तरकारी ढुवानी गर्ने व्यवसायी तथा चालकहरूलाई यात्राअघि सडकको अवस्था बुझ्न, ट्राफिक प्रहरीको निर्देशन पालना गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया