गोसाइँकुण्ड जाँदै गरेका धादिङका २५ तीर्थालु सम्पर्कविहीन

पालिका डायरी
१० भाद्र २०८३, १८:५५
गोसाइँकुण्ड जाँदै गरेका धादिङका २५ तीर्थालु सम्पर्कविहीन

धादिङबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन भएको छ।

बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ यात्रु लिएर गएको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार यात्रु तथा चालक सम्पर्कमा आएका छैनन्। धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित बसमा यात्रा गरिरहेका यात्रु तथा चालक कोही पनि सम्पर्कमा नआएको बताइएको छ।

बस धादिङबेशीबाट रिजर्भ लिएर गोसाइँकुण्डका लागि छुटेको थियो। बस र सवार सबै यात्रु सम्पर्कविहीन भएपछि धादिङ मण्डली यातायात समितिले खोजी कार्यका लागि सहयोग मागेको छ।

बसमा नीलकण्ठ नगरपालिका-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार छन्।  त्यस्तै, नीलकण्ठ-९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल बसमा सवार रहेको बताइएको छ।

यसैगरी, सिद्धलेक गाउँपालिका-१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट, नीलकण्ठ नगरपालिका-३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना सवार रहेको बताइएको छ।

बसका चालक नीलकण्ठ-१२ का छविलाल श्रेष्ठ रहेको समितिका प्रवन्धक राजेश प्रजापतिले बताए। उनका अनुसार गाडी साहु पनि श्रेष्ठ नै हुन्।  ‘रसुवामा बाढी आयो भन्ने थाहा पाएपछि बिहान १०ः३५ मा चालकलाई फोन गरेको थिएँ। त्यतिबेला पूरै घण्टी बज्यो,’ प्रजापतिले नेपालखबरसँग भने, ‘दोहो¥याएर गर्दा सम्पर्क भएन। अहिलेसम्म कोही पनि सम्पर्कमा आउनुभएको छैन भन्ने खबर छ।’

उनका अनुसार चालक श्रेष्ठ उक्त प्रालिको सञ्चालक समेत हुन्। बस र यात्रुहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।  बसमा सवार यात्रु वा चालकसँग सम्पर्क भएका व्यक्ति अथवा बसको पछिल्लो अवस्थाबारे कुनै जानकारी पाएका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समिति वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन प्रवन्धक प्रजापतिले अनुरोध गरेका छन्।

प्रतिक्रिया