घाइते २० जनाको शिक्षण अस्पतालमा उपचार हुँदै, दुई गम्भीर
भोटेकोसी बाढीमा घाइते भएका २५ जनालाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ। बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढीले जनधनको क्षति गरेको छ। घाइतेको उद्धार जारी रहेको छ।
बुधबार अपराह्न साढे ४ बजेसम्म २३ जना घाइतेलाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा ल्याइएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० जनाको उपचार भइरहेको सूचना अधिकारी कालिप्रसाद रोसायाले जानकारी दिए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको रोसायाले बताए। त्यस्तै, तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ। तीनै जना नुवाकोटका रहेका छन्। घाइते तीन जनामा दुई पुरुष र एक जना महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए।
उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको छ। तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।


