मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत

पालिका डायरी
९ भाद्र २०८३, १९:५४
मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत

मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले ५७ मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गरेका हुन्। १०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्ने थियो।

उनले ५७ मत प्राप्त गरेका हुन्। उनको पक्षमा सत्तारूढ नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले मतदान गरेका छन्। एमालेको २४, नेकपाको २६ र राप्रपाको सात गरी ५७ सांसदको समर्थन प्राप्त गरेका हुन्।

मुख्यमन्त्री मगरले विश्वासको मत लिनुअघि भने सत्ता गठबन्धनभित्रै विवाद देखिएको थियो। सरकारमा मन्त्रालयको भागबण्डा, मन्त्री छनोट र पावर सेयरिङका विषयमा नेकपाका केही सांसद असन्तुष्ट थिए।  विवादका कारण उनीहरू बैठकमा सहभागी हुने वा नहुने विषयमा समेत अन्योल देखिएको थियो। प्रदेश सभा बैठक सुरु हुनुअघि सत्तारुढ तीन दलबीच ६ बुँदे सहमति पश्चात बैठक सुरु भएको हो।

राप्रपाभित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायम थियो। पार्टी केन्द्रको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको थियो।  राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विपसमेत जारी गरेकी थिइन्। तर राप्रपाका सात सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका हुन्।

प्रतिक्रिया