बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत अब भोलि लिने

पालिका डायरी
८ भाद्र २०८३, २०:५०
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत अब भोलि लिने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक मंगलबार (भोलि) दिउँसो ४ बजे बस्ने भएको छ।

यसअघि सोमबार (आज) तीन पटक स्थगित गरिए पनि निर्धारित समयमा बस्न नसकेपछि मंगलबार दिउँसो ४ बजेका लागि सारिएको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेको उल्लेख छ।

मुख्यमन्त्री थापामगरले संविधानको व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। तर, उनको नियुक्तिलाई लिएर कांग्रेसले प्रश्न उठाउँदै आएको छ भने सत्ता साझेदार दलहरूभित्र पनि मन्त्रालय बाँडफाँट, मन्त्री छनोट र पावर सेयरिङका विषयमा विवाद देखिएको छ।

राप्रपा र कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्। सत्ता गठबन्धनभित्रकै केही सांसद पनि असन्तुष्ट देखिएका छन्। यही कारण मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने विषयमा राजनीतिक रूपमा चासो बढेको छ।

मंगलबार दिउँसो ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसमा प्रदेशसभामा मतदान हुने कार्यसूची छ।

प्रतिक्रिया