उद्धव थापालाई सांसदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

पालिका डायरी
८ भाद्र २०८३, १४:१६
उद्धव थापालाई सांसदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेश सभामा औपचारिक पत्र बुझाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको पत्र राप्रपाकी बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंलाई सोमबार बुझाएकी हुन्।

राप्रपाको केन्द्रीय कार्यालयबाट भदौ ८ गते जारी पत्रमा थापाले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि पार्टीका सांसदको समर्थन रहेको भन्दै आफूखुशी प्रदेश प्रमुखसमक्ष पत्र बुझाएको उल्लेख छ।

राप्रपाले थापाको कदमलाई पार्टीको नीति, निर्देशन र विधानविपरीत अनुशासनको गम्भीर उल्लंघन भएको दाबी गरेको छ। सोही आधारमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले थापालाई बागमती प्रदेश सभाको सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

राप्रपाका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको भदौ ४ गते बसेको बैठकले अनुशासन समितिको सिफारिशका आधारमा थापालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो। पत्रसँगै राप्रपाले थापामाथि कारबाही गरिएका विभिन्न आठ वटा कागजातसमेत प्रदेश सभामा बुझाएको छ।

जसमा साउन २० गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, साउन २१ गतेको बागमती प्रदेश सभा संसदीय दलको निर्णय, भदौ १ गते संसदीय दललाई पार्टीले दिएको निर्देशन, सोही दिनको संसदीय दलको निर्णय, अनुशासन समितिले मागेको स्पष्टीकरण र समितिको सिफारिश समावेश छन्।

यस्तै, भदौ ३ गते बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र र भदौ ४ गते केन्द्रीय कार्यसम्पादन समितिले थापालाई पदमुक्त गर्ने निर्णयको प्रतिलिपिसमेत प्रदेश सभामा बुझाइएको छ।

यसअघि राप्रपा केन्द्रले पार्टीको निर्णयविपरीत बागमती प्रदेशमा एमाले संसदीय दलका नेता किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको भन्दै उद्धव थापामाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। राप्रपा केन्द्रले प्रदेश सरकार गठनमा पार्टीको सहभागिता वा समर्थन नरहेको बताउँदै आएको छ।

राप्रपा बागमती संसदीय दलकी प्रमुख सचेतक तामाङले यसअघि नै उद्धव थापालाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएकी थिइन्। अब राप्रपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न औपचारिक पत्र नै बुझाएपछि थापाको प्रदेश सभा सदस्य पदसम्बन्धी विषय थप विवादित बनेको छ।

प्रतिक्रिया