माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा महिलाको शव फेला
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपा स्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा आइतबार बिहान अज्ञात महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ७ः३० बजेको समयमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा करिब ३५/४० वर्ष उमेरकी महिलाको शव हाइड्रोपावरको पानी छान्ने जालीमा अड्किएको अवस्थामा फेला परेको हो। मृतकको हालसम्म एकिन नामथर तथा वतन खुल्न सकेको छैन।
शव फेला परेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक तथा SOCO सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थल तथा शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा ल्याई राखेको जनाएको छ। हालसम्म मृतक महिलाका आफन्त सम्पर्कमा नआएको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


