तीन छात्राको मृत्युमा शोक बिदा, अर्धकदकाे शालिक निर्माण गर्ने 

पालिका डायरी
५ भाद्र २०८३, १९:२३
३ छात्राको मृत्युमा शोक बिदा, अर्धकदकाे शालिक निर्माण गर्ने 

हेटौंडा / हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाले हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाउँदा तीन छात्राको मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै शोक विज्ञप्ति जारी गर्ने भएको छ। भदौ ८ गते सोमबारका दिन वडामा एक दिन शोक बिदा दिने निर्णय आज (शुक्रबार) बसेको बैठकले निर्णय गरेको छ।

मृतक छात्राहरूको काजकिरिया तथा अन्त्येष्टिसम्बन्धी खर्च बेहोर्ने, खोलाबाट उद्धार गरिएकी छात्राको उपचार तथा शिक्षासम्बन्धी खर्च बेहोर्ने, बासुदेव खोल्सीको जोखिमबाट बच्न कल्भर्ट निर्माण गर्ने तथा मृतक विद्यार्थीको अर्धकदको सालिकसहित उपयुक्त स्थानमा पार्क विकास गर्दै लैजाने निर्णय पनि गरिएको छ।

विद्यालयको पढाइ सकेर घर फर्किने क्रममा भदौ २ गते साँझ ५ः३० बजे बासुदेव खोलाले बगाउँदा कक्षा–५ मा अध्ययनरत ११ वर्षीया सुमित्रा ब्लोन, १२ वर्षीया बिनिता ब्लोन र कक्षा–२ मा अध्ययनरत ८ वर्षीया रेशमा स्याङ्तानको मृत्यु भएको थियो।

खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्राको शव चौथो दिन फेला परेको थियो। बगाएकामध्ये राक्सिराङ–१ की रेशमाको शव यसअघि नै फेला परेको थियो भने बिनिता ब्लोनको शव बुधबार बासुदेव र राप्तीखोलाको दोभानमा फेला परेको थियो।

घटनामा कक्षा–६ मा अध्ययनरत सीमा ब्लोनलाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो।

प्रतिक्रिया