हेटौँडा कपडा उद्योग अनुगमन गर्दै मन्त्री यादवले भनिन्: केही महिनामै सबै लुम चल्छन्
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अबको केही महिनाभित्र उद्योगका सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन थालिने दाबी गरेकी छन्।
शनिबार (आज) हेटौँडा कपडा उद्योगको अनुगमन गर्दै मन्त्री यादवले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि सरकारले अघि बढाएको काम व्यवहारमै देखिन थालेको जिकिर गरिन्। बिग्रिएर थन्किएका मेसिन मर्मत गरी केही लुमबाट परीक्षण उत्पादन सुरु भइसकेको उनले बताइन्।

‘सरकारले स्टन्टबाजी गरिरहेको भनेर चर्चा भएजस्तो अवस्था होइन,’ मन्त्री यादवले भनिन्, ‘मेसिन मर्मत गरेर परीक्षण उत्पादन सुरु भइसकेको छ। अबको केही महिनाभित्र सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन गर्छौँ।’
सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले उद्योग सञ्चालन रोक्न विभिन्न तत्त्व प्रयोग गरिरहेको दाबीसमेत उनले गरिन्। निजी क्षेत्रबाट अवरोध सिर्जना गर्ने प्रयास भए पनि सरकार उद्योग सञ्चालनबाट पछि नहट्ने उनको भनाइ छ।
‘सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले रोक्नका लागि विभिन्न तत्त्व प्रयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘तर सरकार आफ्नो निर्णयबाट पछि हट्दैन।’ २६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक टोलीले बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो।
उद्योगमा अहिले १० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ। सरकारले क्रमशः सबै लुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

