कैलाशमा शिक्षक बैंक व्यवस्थापन कार्यविधि-२०८३ पारित

पालिका डायरी
५ भाद्र २०८३, १४:१४
कैलाशमा शिक्षक बैंक व्यवस्थापन कार्यविधि-२०८३ पारित

मकवानपुरको कैलाश गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र आवश्यकतामा आधारित बनाउन ‘शिक्षक बैंक व्यवस्थापन कार्यविधि-२०८३ पारित गरेको छ ।

कैलाश गाउँ शिक्षा समितिले तयार गरेको कार्यविधिलाई विहीबार बसेको गाउँपालिकाको कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेको हो । पारित गरे सँगै गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तथा जनशक्ति व्यवस्थापनमा देखिँदै आएको समस्याको हल हुने भएको छ ।

विद्यालयमा विद्यार्थी संख्या, विषयगत आवश्यकता तथा शिक्षकको उपलब्धताका आधारमा शिक्षक व्यवस्थापन गर्न शिक्षक बैंक प्रभावकारी माध्यम बन्ने कैलाश गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले बताए । शिक्षकको अभाव भएका विद्यालयमा आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउने तथा कतिपय विद्यालयमा बढी रहेका शिक्षकलाई व्यवस्थापन गर्ने उद्देश्यले कार्यविधि ल्याइएको उनले बताए ।

भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा समेत गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने र शिक्षक अभावका कारण पठनपाठनमा समस्या हुन नदिने गाउँपालिकाको लक्ष्य रहेको छ, अध्यक्ष मुक्तानले भने । शिक्षक बैंकमार्फत शिक्षक व्यवस्थापन गर्दा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी पारदर्शी र व्यवस्थित ढंगले शिक्षक परिचालन गर्न सकिने विश्वास गाउँपालिकाको छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै विद्यालय शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

शिक्षकहरु सुत्केरी बिदा, किरिया बिदा, सरुवा भई तत्काल दरबन्दी रिक्त भएको अवस्थामा दरबन्दीमा स्थायी तथा अस्थायी शिक्षक व्यवस्थापनको समस्या रहेको सन्दर्भमा शिक्षक व्यवस्थापन, शिक्षक आपूर्ति, सिकाई सुनिश्चितता, शैक्षिक क्षति न्यूनिकरण र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिक्षक बैंक स्थापना गरिएको अध्यक्ष मुक्तानले बताए ।

शिक्षक बैंक स्थापनाको उद्देश्य सामूदायिक विद्यालयहरुमा आवश्यक शिक्षकहरुको व्यवस्थापन गर्नुका साथै विद्यालयमा आंशिक आवश्यकताको पूर्ति गरी सिकाई क्षति न्यूनिकरण गर्नु रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकाससँगै शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ उपलब्धि वृद्धिलाई समेत प्राथमिकतामा राखेर शिक्षक बैंक स्थापना गरिएको बताए ।

शिक्षक बैंकले शिक्षण पेशालाई सेवा प्रवाह गर्ने स्रोतको रूपमा हेरिन्छ, जहाँ शिक्षकहरूलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ, प्रमुख जोशीले भने । दुर्गम क्षेत्र, आपत्कालीन अवस्था, शिक्षकले अवकाश पाए वा कुनै शिक्षक बिदामा बसे भने शिक्षक बैंकबाट शिक्षकहरू पठाउन सकिने उनले बताए ।

शैक्षिक बैंक मार्फत शिक्षकहरू पूर्णकालीन नभई आवश्यकता अनुसार माग–समय अनुसार परिचालन गरि शैक्षिक सेवालाई निरन्तरता दिईने गाउँपालिकाका स्रोत शिक्षक ध्रवराज विष्टले बताए । कार्यविधिमा भए अनुरुप शिक्षक बैंकमा सुचिकृत हुन प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय सहायक कर्मचारी लेखापालको लागि कक्षा १२ उर्तीण गरेको हुनुपर्ने विष्टले बताए । प्रावि, निमावि र मावितहका लागि न्यूनतम योग्यता सम्बन्धित तहका लागि शिक्षा आयोगले निर्धारण गरे बमोजिमको हुनुपर्ने उनले बताए । कैलाशमा ६ वटा माद्यामिक विद्यालय, ४ वटा निम्न माद्यामिक विद्यालय, २३ वटा प्राथमिक विद्यालय र १० वटा आधारभूत विद्यालय गरी ४३ वटा सामूदायिक विद्यालय सञ्चालित छन् ।

प्रतिक्रिया