बासुदेव खोलाले बगाएकी सुमित्राको शव राप्ती नदीमा भेटियो

पालिका डायरी
५ भाद्र २०८३, ०८:२५

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बासुदेव खोलाले गत मंगलबार बगाएकी ११ वर्षीया सुमित्रा भोलनको शव आज (शुक्रबार) फेला परेको छ।

स्थानीय टीकाराम भोलनकी छोरी सुमित्राको शव आज बिहान बगाएको स्थानबाट करिब ७ किलोमिटर तल मकवानपुरकै मनहरी गाउँपालिका-३ लामीटारस्थित राप्ती नदीमा भेटिएको हो।

उनीसहित ४ बालिकलाई गत मंगलबार बासुदेव खोलाले भेलले बगाएको थियो। जसमध्ये १३ वर्षीया सीमा भोलन मात्र बाँचिन्। उनी त्यही दिन बाढीबाट निस्कन सफल भएकी थिइन्।

यसअघि बासुदेव खोलाको भेलमा सँगै बगेका ८ वर्षीया रोशनी स्याङ्ताङ र १२ वर्षीया विनिता भोलनका शव फेला परिसकेका छन्।

रोशनीको शव बगाएकै दिन भेटिएको थियो भने विनिताको शव हिजो बिहीबार फेला परेको हो।

खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन तथा स्थानीय बासिन्दा निरन्तर खटिएका थिए।

प्रतिक्रिया